मोरङको जहदा गाउँपालिकामा १४ वर्षीया बालिकाको सोमबार राति बलात्कार .भएको घटना सार्वजनिक भएको छ।
सोमबार राति करिब साढे नौ बजे घरबाट बाहिर नजिकै रहेको नालामा शौच गर्न निस्किएकी बालिकालाई मोटरसाइकलमा आएका दुई युवकले करिब डेढ किलोमिटर पर लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लोकदर्शन थापा बताएका छन् ।
प्रहरी प्रवक्ता थापाका अनुसार घटनामा संलग्न भएको आरोपमा जहदा–१ का २२ वर्षीय दिपेशकुमार यादव र २१ वर्षीय अजय बैठाको खोजी भइरहेको छ।
घटना भएको करिब अढाई घण्टापछि बालिका परिवारको सम्पर्कमा आएकी थिइन्। सो क्रममा बालिकाले घटना विस्तारसँगै परिवार समक्ष राखेकी थिइन् र छिमेकीसहित परिवारले मध्यरात १ बजेसम्म युवकहरुको खोजी गरेका थिए। युवकहरु लुक्दै भारततर्फ भागेको हुनसक्ने प्रहरीको भनाइ छ।
प्रहरीले बालिकाको अपहरण र बलात्कारमा प्रयोग गरिएको को २२ प १८१६ नम्बरको मोटरसाइकल उदितचन्द यादवको घरमा फेला पारेको छ। भाग्ने क्रममा पेट्रोल सकिएपछि मोटरसाइकल छाडेर भागेको थापाले बताए।
प्रतिक्रिया