'अहिले चुनावको सम्भावना छ ? फ्लोरमा वातावरण हुनुपर्यो नि होइन' : प्रधानन्यायाधीश राणा

५ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चुनावको वातावरण भए–नभएकोबारे प्रश्न गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइका क्रममा आइतबार उनले इजलासमा यसबारे प्रश्न गरेका हुन् । 

सरकारको तर्फबाट बहस गरेका अधिवक्ता श्यामकुमार भट्टराईले राजनीतिक शक्तिको असफलता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा जाने निर्णय गरेको बताए । उनले मुद्दाको फैसला कसैले अनुमान गरेको भन्दा फरक हुनुपर्ने बताउँदै प्रधानमन्त्रीको निर्णयअनुसार चुनाव हुनुपर्ने बताए  । अदालतबाट विघटनविरुद्धको मुद्दामा बौद्धिक रुपमा आदर गर्न सकिने, सैद्धान्तिक रुपमा स्वीकार गर्न सकिने र व्यवहारिक खालको फैसला हुनुपर्ने उनको भनाइ थियो ।

उनले प्रतिनिधिसभा विघटन राजनीतिक प्रश्न भएको जिकिर गर्दै सबै कुरा  जनताले फैसला गर्ने भनेपछि प्रधानन्यायाधीश राणाले चुनावको वातावरण भए नभएकोबारे प्रश्न गरेका थिए । 

राणाले प्रतिनिधिसभा विघटनविरुद्ध सडक प्रदर्शन भइरहेको प्रति संकेत गर्दै अहिले ‘चुनावको सम्भावना छ ?’ भन्ने प्रश्न गरेका हुन् । राणाले प्रश्न गरे, ‘ फ्लोरमा वातावरण हुनुपर्यो नि होइन ? अहिले जुन वातावरण छ, त्यो (चुनाव) सम्भावना छ र?’
जबाफमा भट्टराईले जनताले फैसला गर्ने हो कि श्रीमान भन्दै चुनावको पक्षमा माहोल रहेको तर्क गरेका थिए । प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेसँगै निरन्तर सडक तातिरहेको बेला अदालतमा पनि यसबारे कुरा उठेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया