महादेवको मूर्ति अनावरण

५ बर्ष अगाडि

काठमाडौं - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज म्याग्दी जिल्लाको प्रवेशद्वार कालीपुल बसपार्कमा स्थापना भएको महादेवको मूर्ति अनावरण गरे ।

म्याग्दी उद्योग वाणिज्य सङ्घ स्थापना भएको ५०औँ वर्षका अवसरमा सङ्घको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनका अवसरमा अनावरण गरिएको हो । रु तीन लाखको लागतमा निर्माण भएको मूर्ति १० फिट अग्लो भएको  सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । 

“उद्योग वाणिज्य सङ्घको ५०औँ वर्षगाठ मनाउने क्रममा धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले महादेवको मूर्ति स्थापना गरेका हौँ”, उनले भने, “म्याग्दी र मुस्ताङ जाने आउने पर्यटकले बेनीको पहिचानस्वरुप यहाँ तस्बिर खिच्न सक्छन् ।” 

कालीपुल बसपार्क म्याग्दीको मुख्य प्रवेशद्वार हो । कालीपुल बसपार्क भएर मुस्ताङ जाने आउने सवारी साधन आवतजावत गर्छन् । स्तम्भको माथिल्लो भागमा शिव ध्यान बसेको आकृतिको आकर्षक मूर्ति राखिएको सङ्घका महासचिव लीलाराम गौतमले जानकारी दिए ।  

विसं २०७७ असोज १९ गते बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले मूर्तिको शिलन्यास गरेका थिए । अध्यक्ष तिमिल्सिना  सङ्घको ११औं अधिवेशनका उद्घाटन समारोहमा सहभागी हुन बेनी आउनुभएको हो ।

अधिवेशनबाट सङ्घको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने जनाइएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया