शुक्रबार मौसममा आएको बदलीसँगै कर्णालीका हिमाली तथा मध्यपहाड क्षेत्रका विभिन्न स्थानमा हिमपात भएको छ । बिहीबार रातिदेखि हिमपात शुरु भएकाले जनजीवन कष्टकर बनेको छ । कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा लगायतका जिल्लामा उच्च हिमपात भएको हो । त्यस्तै दैलेख, कालिकोट लगायतका मध्य क्षेत्रका उच्च भू–भागहरुमा पनि हिमपातसँगै चिसो बढेको छ । यस पटकको हिमपात यो वर्षकै धेरै भएको आङ्कलन गरिएको छ । यद्यपि, यसअघि पनि एक दुईपटक हिमपात भएको थियो ।
हिमपातले हिमाली जिल्लाहरुको तापक्रम माइनस डिग्रीमा झरेको छ । हुम्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
हवाईसेवा अवरुद्ध
हिमपातका कारण हिमाली जिल्लाको एकमात्र यातायातको साधन हवाई यात्रा अवरुद्ध हुन पुगेको छ । शुक्रबार बिहानदेखि अन्तर हुम्लादेखि जिल्ला जोड्ने एक मात्रै हवाई यातायत अवरुद्ध भएको हो । विहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छाए पनि निरन्तर हिमपात र हावाहुरीका कारण नेपालगञ्ज–सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थललले जानकारी दिएको छ ।
विकट हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायत अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रु अलपत्रमा परेका छन् भने हुम्लाबाट जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् । यस्तै उत्तरी हिल्सामा आवतजावत समेत ठप्प हुनुका साथै चिसो अत्याधिक बढेको सशस्त्र प्रहरी विओपी हिल्साले जानकारी दिएको छ ।
प्रतिक्रिया