“यसरी प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन हुन्छ'': प्रधानमन्त्री ओली

५ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको बताएका छन्  । नेकपा वाग्मती प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनले नै सबै विषयको  फैसला गर्ने बताए । 

उनले भने, “जनतालाई अहिले अस्थिरता होइन चुनाव चाहिएको छ । त्यसैले देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ कसको सरकार बन्नुपर्छ भनेर । ”
उनले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम।गर्न नपाएमा प्रतिनिधिसभा विघटन गर्न अधिकार हुने बताए । “बेलायतमा लिखित संविधान छैन । प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुरा लेखेको छैन  तर अस्ति भर्खर संसद् विघटन गरेर चुनाव गराउनुभयो”,  “यसरी प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन हुन्छ ।”

उहाँले सरकारलाई आफ्नै पार्टीका नेताबाट काम गर्न नदिइएकाले आफूले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु परेको स्पष्ट पारे ।  “उहाँहरुले सरकार चलाउन दिनुभएन, लोकतन्त्र र  संसद्लाई ठीक ढङ्गले चल्न दिनुभएन, संसद्लाई केही काम गर्न नदिने गरी पङ्गु बनाउन थाल्नुभयो”, प्रधानमन्त्रीले भने, “फेरि पहिलेको जस्तो किनबेचको राजनीति, पहिले जस्तो समीकरणको राजनीति, बहुमतको सरकार ढालेर जोडजामको राजनीति उहाँहरुले खोज्नुभयो । त्यसकारण मैले काम गर्न अवस्था नभएपछि नेपाली जनताका बीचमा ताजा जनादेशमा जानुपरेको हो ।” देशलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउन आफूले लिएको अभियान असफल पार्न विभिन्न षड्यन्त्र गरिएको  बताउँदै उनले अरुबाट मिचिएको मुलुकको भूमि समेटी नक्शा छापेर  संविधान संशोधन भएपछि आफूलाई सरकारबाट हटाउन खोजिएको आरोप लगाए । 

    

५ बर्ष अगाडि

प्रतिक्रिया