हिमाली क्षेत्रमा माइनस डिग्रीमा झर्‍यो तापक्रम

५ बर्ष अगाडि

कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहीबार रातिदेखि हिमपात सुरु भएको हो ।

हिमपात सुरु भएपछि  तापक्रम माइनस डिग्रीमा झरेको छ । जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ । हिमपातकै कारण सिमकोट पढ्न आउने विद्यार्थी मर्कामा छन् । अहिले सिमकोट बजारका अधिकांश पसल तथा दोकानमा आगो बालेर दैनिक उपभोग्य बस्तु किनबेच भइराखेका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही आउन सकेका छैनन् । आएका सेवाग्राही समेत अलपत्र परेका छन् ।

तर, यसपटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौँलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा चिन्तित बनेका किसान बिहीबारबाट हिमपात हुँदा खुशी भएको सर्केगाड गाउँपालिका(६ बराइगाउँका मानबहादुर ऐडीले बताए ।

‘यो हिमपातले हुम्लाका किसानमा निकै खुशी ल्याएको छ’, उनले भने, ‘यो हिमपात कृषि क्षेत्रका लागि उत्तम छ ।’ यो समयमा जमिनमा चिस्यान रह्यो भने खेतिपाती निकै राम्रो हुने गरेको किसानको भनाइ छ ।

ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा हुम्लाका किसान धेरै हर्षित भएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया