काठमाडौं- ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आगामी शुक्रबार (माघ २३ ) देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ ।
ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।
ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको निष्कासन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर एनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यस साधारण सेयरको बिक्रीको लागि आगामी २३ गतेदेखि २७ गतेसम्म खुल्ला रहेनेछ ।
यस साधारण सेयर निष्कासन गर्न लागेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड विभिन्न जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्य रहेको कम्पनी हो । आफ्नो उद्देश्य बमोजिम हाल यस कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट विजुली उत्पादन गर्ने उद्देश्यसहित २०७८ वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता गरीसकेको छ ।
साथै, ४० मेगावाट क्षमताको जलविद्युत आयोजनामध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ वर्षभित्रमा उत्पादन प्रारम्भ हुने छ । त्यस्तै प्रशारण लाइनको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको छ ।
रु। २ अर्ब ५० करोड अधिकृत पुँजी रहेको उक्त कम्पनीको यस निष्कासन पश्चात् चुक्ता पुँजी रु। १ अर्ब ८० करोड रहनेछ ।
प्रतिक्रिया