काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। .
विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ करोड ३८ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३५ लाख रुपैयाँ घटेर ९८ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ७ करोड ७७ लाख रुपैयाँ बढेर ८२ करोड ३२ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको फि, कमिशन तथा डिस्काउन्ट आम्दानी २२ करोड ६१ लाख रुपैयाँबाट बढेर ३५ करोड ७१ लाख रुपैयाँ पुगेसँगै खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा बढ्न गएको हो।
पुस मसान्तसम्ममा १ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब ६१ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ हुँदा जगेडा कोषमा १ अर्ब ५२ करोड रुपैयाँ थियो।
सो अवधिसम्ममा लघुवित्तले २० अर्ब ८६ करोड रुपैयाँ निक्षेप र ६ अर्ब १२ करोड रुपैयाँ सापटीबाट २५ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.३५ प्रतिशतबाट बढेर २.१३ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा १० करोड ८१ लाख रुपैयाँ छुट्याएको छ।
सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ६७ रुपैयाँ २७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ ८९ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात १८.९७ गुणा रहेको छ।
प्रतिक्रिया