काठमाडौंको तारकेश्वर नगरपालिकामा देखापरेको बर्डफ्लु रोग थप फैलिन नदिन सरकारले ‘बर्डफ्लु नियन्त्रण कक्ष’ स्थापना गरेको छ ।
शुक्रवार नगरपालिकाको वडा नं ७ साङ्लेखोला, फुटुङमा नमूना परीक्षण गर्दा किसानले पालेका हाँस, कखुरा र टर्कीमा संक्रमण पुष्टि भएपछि पशुसेवा विभागले विभागकी निमित्त महानिर्देशक दमयन्ती श्रेष्ठको अध्यक्षतामा सोही दिन बर्डफ्लु नियन्त्रण कक्ष स्थापना गरिएको हो ।
विभागका सूचना अधिकारी डा। चन्द्र ढकालका अनुसार अहिले उक्त कक्ष मार्फत खटिएका पशु चिकित्सक र स्वास्थ्यकर्मीले थप स्थानमा रोगको संक्रमण फैलिन नदिन काम गरिरहेका छन् । बर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ अन्तर्गत रहेर विभागले उक्त कक्ष स्थापना गरी रोग नियन्त्रण कार्यलाई तीव्रता दिएको उनले बताए । विभागबाट खटिएका स्वास्थ्यकर्मीले तारकेश्वर नगरपालिकामा रोग नियन्त्रण गरिसकेको पनि उनले जानकारी दिए ।
अबको ९० दिनसम्म उक्त क्षेत्रमा कुनै पनि पक्षीपालन गर्न वा भित्र्याउन प्रतिबन्ध लगाइएको छ । त्यसैगरी प्रदेश तथा स्थानीय तहमा समेत सम्बन्धित निकाय मार्फत निरीक्षण टोलीहरू खटाई दैनिकजसो नमूना परीक्षण गरिरहेका समेत विभागले बताएको छ ।
प्रतिक्रिया