लोप हुँदै सुनका गहना

५ बर्ष अगाडि

काडमाडौं - सुदूरपशिचम प्रदेशका पहाडी क्षेत्रमा रहेका परम्परागत गहनाका रुपमा रहेका सुनका गहना लोप हुँदै गएका छन् । 

नाकमा लगाउने बुलाकी, निधारमा लगाउने सुनका टीका, कानमा लगाउने मडेरी, घाँटीमा लगाउने ढुङ्री, कपालमा लगाउने क्लिपलगायतका पुराना गहना अहिले लोप हुने अवस्थामा पुगेका छन् । 
 
बुढापाकाले लगाउने पुरानो शैलीका सुनका गरगहना आधुनिकताका कारण अहिले डडेल्धुरालगायतका जिल्लामा लोप हुने अवस्थामा पुगेका हुन् । पुराना सुनका गरगहना बनाउने कामदारको अभाव र नयाँ पुस्ताले आधुनिक डिजाइनका सुनका गहना प्रयोग गर्न थालेसँगै पुराना गहना विस्थापित हुन थालेको पाइन्छ । 

यस क्षेत्रका बुढापाका महिलाले लगाउने सुनका बुलाकी, नअथी, मडारी, फुली, टीका, ढुङ्ग्री, क्लिपलगायतका सुनका गहना पहिला विवाहमा बेहुलीका लागि अनिवार्य लगाउनुपर्ने चलन थियो । 
 
सुनका गहना पहिलाको तुलनामा महँगो बन्नुले पनि विपन्न परिवारका महिलाले त्यस्ता गहना प्रयोग गर्न छाडेको सुनचाँदी व्यवसायीको रमेश सुनारले बताए । नाकमा बुलाकी लगाउने कहिलेकाहीँ मात्र देख्न सकिने भए पनि अन्य गहना भने लोप हुने अवस्था आएकाले पुरानो सांस्कृति नै लोप हुने अवस्थामा पुगेको सिद्धबाबा सुनचाँदी पसलका सञ्चालका अर्जुन सदाशङ्करको भनाइ छ । 

सुनचाँदी पसलमा समेत अहिले पुराना मोडलका गहना बन्न छाडेको र पुराना मोडलका गहना बनाउन जान्ने कामदारको समस्या डडेल्धुरा, डोटी, अछाम र बाजुरामा अभाव रहेको डडेल्धुरा सुनचाँदी व्यवसायी सन्दिप सिजापतिले जानकारी दिए । 

सुनका गहना बढी प्रयोग हुने विवाहमा समेत आधुनिक गहनाको प्रयोगले गर्दा मौलिकखाले गहना लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । 
     

५ बर्ष अगाडि

प्रतिक्रिया