रेडपाण्डा संरक्षण गर्न विद्यालयमा पठनपाठन

५ बर्ष अगाडि

काठमाडौं - लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे संरक्षणका लागि ‘रेडपाण्डा नेटवर्क’ले विभिन्न सङ्घसंस्थासँगका सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ ।   

हाब्रे संरक्षणमा क्रियाशील सो नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर विभिन्न विद्यालयमा अध्ययन अध्यापन गर्दै आएको हो । 

हाब्रे पाइने ताप्लेजुङ, पाँचथर र इलाम गरी २८ विद्यालयमा रातो हाब्रे विषयमा अध्ययन हुँदै आएको रेडपाण्डा संरक्षणसम्बन्धी काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए ।  

कक्षा ६ र ७ मा पठनपाठन शुरुआत गरिएको हो । विद्यालयस्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्यसामग्री तयार पारिएर अध्ययन हुँदै आएको उनले बताए ।

ताप्लेजुङ, इलाम र पाँचथरका वातावरण, भौगोलिक अवस्था, मानवीय अवस्थाको विषय समेटिएर तयार परिएको पाठयक्रम भएकाले स्थानीय परिवेश बुझ्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ । 

सेंवा उच्च मावि, महेन्द्र आधारभूत विद्यालय, स्वस्वती उच्च माध्यमिक विद्यालय फक्ताङलुङ गाउँपालिका, फुङलिङ नगरपालिका–११ मयेम माध्यमिक विद्यालय र कञ्चजङ्घा उच्च माध्यमिक, यामफुदिन लक्ष्मी माध्यमिक विद्यालय मामखे शिद्धकुमारी आधारभूत विद्यालय गरी ताप्लेजुङमा सात विद्यालयमा २४३ विद्यार्थीले रातो हाब्रेको संरक्षण र महत्वसम्बन्धी  अध्ययन गरिरहेका जनाइएको छ ।

 इलामको माईजोगमाई गाउँपालिकाको ज्ञानोदय मावि र प्याङ मावि, सन्दकपुर गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय, प्रमोद मावि, श्याम्बल मावि र चन्द्रोदय मावि तथा इलाम नगरपालिकाको वाल्मीकि आधारभूत विद्यालयमा वातावरण संरक्षण शिक्षा पढाइ हुँदै आएको छ । कक्षा ६ को पुस्तकमा संरक्षण संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, हाब्रे, मानव र वन्यजन्तुबीचको द्वन्द्व र न्यूनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटनका पाठ्यसामग्री समावेश गरिएको छ । 

कक्षा ७ को पुस्तकमा पूर्वी हिमाल, जैविक विविधता, संरक्षणसम्बन्धी ऐन, कानून, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन शीर्षकका रहेका छन् । ती विद्यालयमा बाल क्लब बनाएर यसअघिदेखि नै वातावरण संरक्षणसम्बन्धी ज्ञान दिइँदै आए पनि त्यति प्रभावकारी हुन नसकेपछि स्थानीयस्तरमै पाठ्यक्रम तयार पारी लागू गरिएको रेडपाण्डा नेटवर्कले जनाएको छ । यसले हाब्रेको संरक्षणमा सहयोग पुग्ने सरोकारहरुको विश्वास छ ।

लोपोन्मुख रातो हाब्रेको संरक्षण विसं २०६३ देखि हुन थालेको हो । ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा करिब २०० को हाराहारीमा हाब्रे रहेको अनुमान गरिएको छ । इलाममा उच्च पहाडी संरक्षण संस्था नेपाल, पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले रातो हाब्रे संरक्षण गर्दै आएका छन् ।

रातो हाब्रे उच्च हिमाली तथा पहाडी क्षेत्रमा बसोवास गर्ने गर्दछ । विशेषगरी बाँसका पात र तामा खाने गर्दछ ।  शारीरिकरूपमा यो घरेलु बिरालोजस्तै हुन्छ र केही ठूलो आकारको हुन्छ । रातो हाब्रे नेपाल, चीन, बर्मा, भूटानलगायतका देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको  मञ्चका सचिव विवश केदेमले जानकारी दिए । दुई हजार ५०० को हाराहारीमा रातो हाब्रे रहेको अनुमान रहेको उनले बताए ।

एक हजार ८००  देखि चार हजार ८०० मिटर उचाइका क्षेत्रमा पाइने गर्छ ।  खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रमा बासोवास गर्ने गर्दछ । हाब्रेको शरीर करिब एक मिटरसम्म लामो हुन्छ । 

यसको पुच्छर धेरै लामो हुन्छ  । यसको लम्बाइ ६० सेन्टिमिटरसम्म  हुने गर्दछ । भाले हाब्रे पोथीभन्दा केही ठूलो हुन्छ, भालेको तौल छ किलोसम्म हुन्छ भने पोथीको तौल साढे चार किलोसम्मको हुन्छन् । यसको शरीरको माथिल्लो भागमा रातो खैरो रङ लामा रौहरूले ढाकेको हुन्छ भने शरीरको तल्लो भुँडीपट्टिको भागमा काला रौले ढाकिएको हुन्छ । 

अनुहारमा भने सेतो रङको हुन्छ, आँखाको छेउछाउमा आँशुले भिजेको जस्तो कालो रौ हुन्छन् । पुच्छर लामो, झ्याङ्गिएको हुन्छ, जसमा पहेँलो, रातो रङका छवटा ब्याण्डहरू हुन गर्दछ  । हिउँ जमेको चिसोबाट बचाउनका लागि पाइतालामा बाक्ला रौहरू बचाउने गर्छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया