काठमाडौं- सनराइज बैंकले लिमिटेडले दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकको वित्तिय विवरण अनुसार बैंकको खुद नाफा ०.५३ प्रतिशतले मात्र बढेको छ ।
चालु आ.व.को पुस मसान्त सम्म बैंकले ९४ करोड ९४ लाख रुपैंया बराबरको खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिसम्म बैकले ९४ करोड ४३ हजार खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ०.८३ प्रतिशत बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको ९ करोड ४९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि सञ्चालन मुनाफा सामान्य बढ्न पुगेको हो।
चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ र शेयरधनी कोषमा ७९ करोड ३४ लाख रुपैयाँ सञ्चित छ। बैंकको चुक्ता पूँजीसँगै शेयरधनीकोष र जगेडामा सामान्य वृद्धि देखिएको छ ।
पछिल्लो ६ महिनामा बैंकको निक्षेप २.४२ प्रतिशत बढेर ९२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा ७.३४ प्रतिशत बढेर ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
कर्जा लगानी बढेपनि बैंकको निष्क्रिय कर्जा भने सामान्य घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १.६९ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १.०६ प्रतिशतमा झरेको छ। समीक्षा अवधिमा बैंकको बेस रेट ९.९९ प्रतिशतबाट ७.२९ प्रतिशतमा झरेको छ भने स्प्रेड ५.१४ बाट ४.१ प्रतिशतमा झरेको छ।
प्रतिक्रिया