काठमाडौं – नेपाल सरकारले पछिल्लो समय करको दायरा विस्तार गर्ने बताए पनि चालु आर्थिक वर्षको मंसिरसम्म आउँदा स्थायी लेखा नम्बर (पान) लिने करदाताको कुल संख्या ६५.६ प्रतिशतले घटेको छ । समिक्षा अवधिसम्म स्थानी लेखा नम्बर लिनेको संख्या ३ लाख ३ हजार ८६७ मात्र रहेको छ । बल्की गत आ.व.को सोही अवधीमा स्थायी लेखा नम्बर लिनेको संख्या ८ लाख ८२ हजार ७०२ रहेको थियो । यस वर्ष उक्त संख्या ५ लाख ७८ हजार ८३५ ले घटेको छ । अर्थ मन्त्रायलयले सार्वजनिक गरेको मंसिरसम्मको अर्थ बुलेटीनले यस्तो देखाएको हो ।
चालु आ.व.को मंसिरसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिने को संख्या १ लाख ६८ रहेको छ । गतको आ.व.को सोही अवधिसम्म व्यवसायिक स्थानी लेखा नम्बर लिनेको संख्या १ लाख ३३ हजार ३१७ रहेको थियो । गत आ.व.को तुलना व्यवसायिक स्थायी लेखा नम्बर लिनेको संख्या २४.९ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ ।
यस्तै समिक्षा अवधीमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ७२.९ प्रतिशतले घटेको छ । चालु आ.व.को मंसिरसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या २ लाख २ हजार २१४ रहेको छ । गत आ.व.को सोही अवधीसम्म उक्त लेखा नम्बर लिने संख्या ७ लाख ४७ हजार २४४ रहेको थियो ।
बिशेषगरि कोरोना भाइरसको महामारीका कारण करको दायरा विस्तार प्रभावित भएको बताइएको छ । कोभिड १९ का कारण व्यवसाय र आर्थिक गतिविधिहरु सहज हुन नसक्दा करको दायरा विस्तारमा प्रभाव परेको अर्थमन्त्रालयको भनाई छ । करको दायरा विस्तारमा संकुचन आउँदा निकट भविष्यमा कर संकलनमा पनि यसको असर देखिने जानकारहरु बताउछन् ।
यस्तै, २०७७ मंसिरसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या भने ३६ लाख ४१ हजार ३ सय ५९ पुगेको छ । यस अवधीसम्म दर्ता भएका कुल करदातामध्ये व्यवसायिक स्थानी लेखा नम्बर लिने करदाता १४ लाख ५९ हजार २ रहेका छन् । जुन कुल करदातामध्येको ४०.१ प्रतिशत हो । यस्तै, व्यक्तिगत स्थानी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ७५ हजार ६६६ पुगेको छ । जुन कुल करदातामध्येको ५९.७ प्रतिशत हिस्सा हो । यसैगरि करकट्टी गर्ने निकायले लिएको स्थानी लेखा नम्बरको संख्या ६ हजार ६९१ रहेको छ । जुन कुल करदातामध्येको ०.२ प्रतिशत हो ।
प्रतिक्रिया