एउटा सँग बैना लिएर अर्कैलाई जग्गा बिक्री गर्ने ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकहरु ठगी मुद्धामा पक्राउ परेका छन् ।
पौने ३ करोड ठगीको मुद्दामा स्कुलका सञ्चालकद्धय शिरिष खड्का र सुरेन्द्र महर्जन पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरु सहित ६ जनालाई अदालतले ठगी मुद्धामा वारेन्ट जारी गरेको थियो । दुई जना ठगलाई पक्राउ गरिएको र अन्य चार सञ्चालक फरार रहेको परिसरका प्रमुख अशोक सिंहले जानकारी दिए ।
उनीहरुले सो स्कुलको नाममा कोटेश्वरमा रहेको २ रोपनी १४ आना २ पैसा जग्गा विक्री गर्न कृष्णप्रसाद देवकोटासँग वैशाख २०७६ मा २ करोड ७५ लाख बैना लिएका थिए ।
बैना फिर्ता पनि नगर्ने र तोकिएको मितिभित्र जग्गा पास पनि नगरेपछि देवकोटाले एक बर्ष अगाडी नै जाहेरी दर्ता गरे पनि प्रहरीले पक्राउ गरेको थिएन । प्रहरीको नजरमा फरार नै रहेको बेला उनीहरुले गत कार्तिक २७ गते जग्गा अर्कैलाई बेचेका थिए ।
उनीहरुले शक्तिको आडमा अनेक कानुनी दाउपेच गरी छल्दै आएको देवकोटाले बताएका छन् । पक्राउ परेका खड्का न्यायपरिषद्का सदस्य लक्ष्मीबहादुर निराला खड्काका छोरा हुन् ।
प्रहरीका अनुसार स्कुलको जग्गा विक्री गर्दा काठमाडौं महानगरपालिकाको शिक्षा शाखाबाट अनुमति समेत नलिएको पाइएको छ । यसबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया