काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ।
मन्त्रालयले प्रदेश १ का लागि डा. तारानाथ पोखरेल, प्रदेश २ का लागि डा. मदनकुमार उपाध्याय, बागमती प्रदेशका लागि डा. गुणराज लोहनी, गण्डकी प्रदेशका लागि प्रा. डा. जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा. विकास देवकोटा, कर्णाली प्रदेशमा डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा. कृष्ण पौडेललाई खोप व्यवस्थापनका लागि संयोजक तोकेको छ।
भारतले नेपाल सरकारलाई उपलब्ध गराएको १० लाख डोज कोरोनाविरुद्धको खोप बिहीबार नेपाल आइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट देशभर खोप अभियान सञ्चालन गर्ने बताएका छन्।
उक्त कोभिसिल्ड खोप अहिले टेकुस्थित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा राखिएको छ। त्यहाँबाट आवश्यक तयारी पूरा गरि एक दुई दिनमा खोप प्रदेशमा पठाउने तयारी सरकारको छ।
प्रतिक्रिया