काठमाडौं - मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् । वैदेशिक रोजगारी र जिल्ला बाहिर रोजगारी गर्नुभन्दा आफ्नै स्थानमा जिल्लाभित्रै व्यावसायिकरुपमा च्याउ र सिस्नुखेती गरी स्वरोजगारीको कार्य महत्वपूर्ण भएको बताइएको छ ।
पछिल्लोपटक शिक्षित युवा वर्गसमेत अन्यत्र पेशामा संलग्न नभई व्यावसायिकरुपमै कृषि पेशामा संलग्न हुन थालेका छन् । हेटौँडा उपमहानगरपालिका–६ का स्थानीय एवं व्यवस्थापन सङ्कायमा स्नातक अध्ययनरत प्रकाश पौडेलले स्वरोजगार बन्न च्याउ खेती गर्दै आएका छन् ।
करीब चार वर्षअघि साथीभाइको सरसल्लाहबाट उत्पेरित भई शुरु गरेको च्याउ खेती आज पौडेलको लागि स्वरोजगारका लागि जीविकोपार्जनको उपयुक्त बाटो बन्न पुगेको छ ।
वि.सं २०७३ मा तीन जनाको संयुक्त लगानीमा तीन वटा टनेलबाट शुरु भएको च्याउ खेती आजसम्म आइपुग्दा ४० टनेलमा विस्तार भएको छ । च्याउका लागि पराल पकाउने ठाउँको व्यस्थापन गरी च्याउखेती गरिँदै आएको छ ।
थप व्यावसायिकता र युवा वर्गका लागि उदाहरणीय बन्दै गएका उनीहरुले हेटौँडा उपमहानगरपालिका–७ र भीमफेदी गाउँपालिकाको चुनियाँमा च्याउ खेती गरिरहेका छन् ।
उत्पादित च्याउलाई बजारको कुनै समस्या नभएको उनीहरुके भनाइ छ । उत्पादित च्याउ आसपासका क्षेत्रमा बिक्री वितरण हुँदै आएको छ । च्याउको मूल्य प्रतिकेजी रु २०० देखि रु २५० सम्म बिक्री वितरण हुने गरेको पौडेलले बताए । जय श्रीमन्नारायण कृषि फर्म दर्ता गरी व्यवसायलाई अझ थप विस्तार गर्ने उहाँको योजना रहेको बताइएको छ ।
बिहान ३ बजे च्याउ टिपेदेखि शुरु हुने पौडेलको दैनिकी साँझ च्याउको पोकामा पानी हालेपछि मात्र सकिन्छ । सहकारी संस्थाबाट ऋण लिएर पौडेलले व्यावसायिक रुपमा च्याउ गर्दै आएका छन् । हाल चुनियाँ बजारबाट २० वटा टनेल र हेटौँडा–७ न्यूरेनीबाट २० वटा टनेलबाट च्याउ बिक्री गरिरहेका उहाँले दैनिक चारदेखि पाँच क्विन्टल च्याउ हेटौँडा बजारमा खपत भइरहेको बताए ।
पौडेलका अनुसार आफूहरुले उत्पादन गरेको च्याउ हेटौँडा बजारमा नै खपत भइरहेको छ । च्याउ खेती गर्ने किसान बढ्दै गएमा हेटौँडा बजारले मात्र खपत गर्न नसक्ने उनले बताए । हेटौँडा बजारभन्दा बाहिर च्याउ पु¥याउन नसकिएको उनको भनाइ छ । एक दिन बिक्री नहुँदा सबै सामान बिग्रिन्छ । हेटौँडाबाट नजिकको बजार सिमरा, वीरगञ्ज र नारायणगढसम्म च्याउ पु¥याउन सकिन्छ, त्योभन्दा टाढा लैजाँदा बिग्रने सम्भावना रहेको उनले गुनासो गरे ।
आफ्नै जिल्लामै दक्ष जनशक्ति भएको खण्डमा जिल्लाकै कोही व्यक्तिले रोजगारी पनि पाउँथे र महँगो शुल्क तिरेर कामदार पनि ल्याउन पर्दैन थियो । इलाम जिल्लाबाट आएका कामदारको समूहले पौडेलको च्याउखेतीमा काम गरिरहेका छन् ।
आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको सुनाउँदै उनले भने, ‘‘रोजगारीका लागि देशका विभिन्न शहरदेखि विदेशमा भौंतारिने युवालाई गाउँघरमै च्याउ खेती गर्न सल्ला दिन्छु ।’’ उनले च्याउखेती गर्न चाहानेलाई प्रशिक्षणसमेत दिने गरेका छन् । अठ्ठाइस वर्षीय पौडेल आफ्नै उमेरका युवाका लागि प्रेरणाका स्रोत बनेका छन् । कृषि कर्मलाई अझ विस्तार गर्दै अरु तरकारी पनि आफ्नो फार्मले उत्पादन गर्ने लक्ष्य रहेको उनको विचार छ ।
बजार विस्तारको लागि दैनिक च्याउ खाँदा हुने फाइदाको बारेमा जनचेतना जगाउन आवश्यक रहेको पौडेलले बताए । उनले रु २५ लाखको लागतमा ४० वटा टनेलमा च्याउ खेती गरेका छन् । उनी भन्छन्, ‘‘लगानी ठूलो लाग्ने तर बिग्रियो भने फेरि माथि उठ्न गाह्रो हुन्छ । पहिला त कृषि बीमाको पनि व्यवस्था थियो । अहिले बीमा गर्न जाँँदा बीमा कम्पनी मान्दैनन् ।’’ लगानी गरेअनुसारको प्रतिफल पनि आउँछ तर आफू धेरै खट्नुपर्ने पौडलले बताए । उनी भन्छन्, “बिहान ३ बजेदखि राति अबेरसम्म च्याउको स्याहारमा खटिनुपर्ने हुन्छ ।”
“काम गर्ने दक्ष जनशक्तिको पनि जिल्लामा अभाव छ । च्याउको टनेल बनाउने, पोकामा बीउ हाल्ने मानिस बाहिर जिल्लाबाट ल्याउनुपर्ने अवस्था रहेको छ । सरकारले कृषि क्षेत्रमा अनुदान उपलब्ध गराए पनि आफू सो अनुदान रकम लिन हालसम्म पनि सक्षम हुन नसकेको उहाँले गुनासो गर्नुभयो ।
नेपालमा च्याउ उत्पादनमा आत्मनिर्भर बनाउन तिनै तह सरकारले आवश्यकताअनुसार कृषि प्रविधि उपलब्ध गराए सहयोग पुग्ने किसानको भनाइ छ । मकवानपुर जिल्लासमेत कार्य क्षेत्र पर्ने कृषि ज्ञान केन्द्र चितवनका च्याउ खेतीको प्रवद्र्धनका लागि विविध कार्य भइरहेको जनाएको छ ।
च्याउ खेतीको समग्र विकासका लागि तथ्याङ्क सङ्कलन र सहयोग कार्य भइरहेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए । उनले शहरी र ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारबाट आएका युवालाई लक्षित गरी कृषि पेशामा लाग्न आवश्यक तालीमसमेत सञ्चालन भइरहेको बताए । यता व्यावसायिकरुपमा गरिने सबै खाले कृषि क्षेत्रलाई प्रवद्र्धनका लागि किसान वर्गलाई आवश्यक तालीम प्रदान गरिने योजना रहेको वाग्मती प्रदेशअन्तर्गत भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले जानकारी दिए ।
त्यस्तै जिल्लाको मकवानपुर गाउँपालिकामा व्यावसायिकरुपमा सिस्नु खेती शुरु गरिएको छ । सो गाउँपालिकाको एक युवा कृषक समूहले सुक्रौरामा बाँझो जमीनको झाडी काटेर सिस्नु खेती शुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका–७ का केही युवाले सो खेती गरेका हुन् ।
हेटौडा उपमहानगरपालिका–६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंले त्यस कम्पनीको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो । युवा पुस्ता आफ्नै जिल्लामा कषि व्यावसायिक कार्यमा लाग्नु उदाहरणीय भएको बताउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच हेटौँडा उपमहानगरपालिकाले पनि वैदेशिक रोजगारीबाट फर्किएका युवा कृषि पेशामा लागेमा त्यसका लागि बजेट विनियोजन भएको जनाएको छ । साथै हेटौँडामा रहेको बाँझो जमीन खेतीको रुपमा प्रयोग भएमा रकमको व्यवस्था भएको प्रमुख हरिबहादुर महतको भनाइ छ ।
प्रतिक्रिया