ठेकेदारको लापरवाहीले भवन निर्माणमा ढिलाइ

५ बर्ष अगाडि

काठमाडौं - निर्माण व्यवसायी (ठेकेदार) कम्पनीको ढिलासुस्तीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नौ वटा वडा कार्यालय भवन निर्माणमा ढिलाइ भएको छ ।

नगरपालिकाभित्र निर्माण गरिने भनिएको ११ वटा सुविधा सम्पन्न भवनमध्ये दुई वटा बाहेक अरु निर्माण हुन सकेको छैन । तत्कालीन गाविसको पुरानो भवनबाट सञ्चालन हुँदै आएका वडा कार्यालयलाई पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले वि.सं २०७७ पुस मसान्तमा सक्ने गरी नगरपालिकाको ११ वडामा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण शुरु गरिएको थियो । 

यस अन्तर्गत वडा नम्बर– १३ नूनथला र वडा नं– १२ जालपामा बाहेक अन्य वडाको भवन तोकिएको समयमा कसैले निर्माण सम्पन्न गरेका छैनन् । करीब १०० जना अट्ने सभाहल, वडाध्यक्ष, वडासचिव र वडा कार्यसमितिका सदस्य बस्ने चार कोठे भवन बनाउन नगरपालिकाले जिम्मा दिएको निर्माण कम्पनीले निर्माणमा ढिलाइ गर्दा समयमा हस्तान्तरण हुन नसकेको जनाइएको छ ।

नूनथला र जालपामा भने सम्झौता गरेको मितिभन्दा अगावै सजिव निर्माण सेवाका प्रतिनिधि प्रकाश नाछिरिङले सम्पन्न गरेर हस्तान्तरण गरेका थिए । प्रोपाइटर प्रकाश थापा रहनुभएको सजिव निर्माण सेवाले सम्झौता गरेको नगरपालिका–१५ विजयखर्कको भवनसमेत अन्तिम चरणमा पुगेको नगरपालिकाको योजना शाखा प्रमुख सीताराम आचार्यले बताए ।

यस्तै, केशव तमोटको ईन्द्रलक्ष्मी कन्ट्रक्सन र दिनेश पौडेलको पीआर कन्ट्रक्सनको संयुक्त फर्मबाट ठेक्का सम्झौता भएको वडा नं–१ दिक्तेलको कार्यालय भवन भर्खर पिलर हालिएको छ । 

वडा नं–२ सोल्माको भवन भने अन्तिमचरणमा पुगेको नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले जानकारी दिए । वडा नं ४ खाल्लेमा भर्खर घडेरी मात्र सम्याएर छाडिएको जनाइएको छ । स्थान विवादका कारण भवन निर्माण कार्यमा ढिला भएको स्थानीयवासीले जानकारी दिएका छन् । 

यता कर्ण खत्रीको रुजन निर्माण सेवा र दिलचक्र राईको दोर्पा निर्माण सेवाको संयुक्त ठेक्का सम्झौता भएको वडा नं ७ दोर्पा, वडा नं  ८ बुवासुङ तथा वडा नं ९ निर्मलीडाडाँको भवनको समेत अवस्था उस्तै रहेको छ । वडा नं ७ दोर्पाको भवन अन्तिमचरणमा पुगेको नगरपालिका स्रोतेले जनाएको छ । 

वडा नं ८ बुवालुुङको भवन भने एक तला ढलान सकिएको जनाइएको छ । वडा नं ९ निर्मलीडाँडामा भने भर्खरै डिपिसि मात्र गरिएको वडा सचिव सञ्जीव मुग्रातीले बताए । उक्त भवन निर्माणका लागि शुरुमा दिलचक्र राईले काम हेरे पनि अहिले रमाहाङ राईले काम गरिरहेको उनले जानकारी दिए ।  

यसैगरी, जोसेफ रिजालको मोहोन एण्ड ब्यासीगाउँ निर्माण सेवाले ठेक्का लिएको वडा नं १० पाथेका र वडा नं ११ खार्मीको भवन भने अलपत्र अवस्थामा छ । पाथेकामा बन्ने भनिएको भवनको पिलरसम्म उठाइएको छ भने, खार्मीको भवनको डिपिसी लेबलसमेत नउठेको त्यहाँका स्थानीय बासिन्दाले जानकारी दिएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया