काठमाडौं, हिमालय एयरलाइन्सले पहिलो उच्च उचाइ गन्तव्यको ल्हासा परीक्षण उडान सम्पन्न गरेको छ । माघ ६ गते सो उडानका लागि विमान ल्हासातर्फ गएको थियो ।
कम्पनीका अनुसाार यो सन् २०२१ को ग्रीष्मऋतुमा ल्हासामा तालिकाबद्ध उडान सुरु गर्ने कम्पनीको व्यावसायिक योजनाअनुरूप भएको हो । परीक्षण उडान एच९ ९६१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ७ः१७ बजे ल्हासातर्फ प्रस्थान गरी त्यहाँको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः४६ बजे अवतरण भएको थियो ।
ल्हासाबाट फिर्ती उडान माघ ६ गते अपराह्न १५ः०० बजे भएको थियो । कम्पनीले परीक्षण उडानका लागि सन् २०२० को मार्चामा एच९ एजेके नाममा दर्ता भएको न्यारोबडी हवाईजहाज ए३१९–११५ प्रयोगमा ल्याएको छ ।
१२० इकोनोमी र ८ बिजनेस क्लास सिटको रहेको हवाईजहाज उच्च उचाइको उडान गर्न परिमार्जित गरिएको कम्पनीले बताएको छ ।
हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्तमा स्थापित भएको हो ।
प्रतिक्रिया