काठमाडौं - सुदूरपश्चिम प्रदेशको समग्र विकासका लागि पूर्वाधार जुटाउनका लागि दवाव दिन शालीन आन्दोलन थालिएको तेह्र वर्ष पूरा भएको छ । यस अवधिमा छिटपुटबाहेक अधिकांंश माग अझै पूरा हुन सकेका छैनन् ।
चौध वर्षअघि कैलाली उद्योग वाणिज्य सङ्घको नेतृत्वमा धनगढीमा सुदूरपश्चिम महोत्सव प्रारम्भ गर्दा उद्घाटनका लागि आमन्त्रण गरिने मुख्य अतिथिलाई २१ बुँदे माग पेश गर्दै दवावस्वरुप २१ किलोको माला लगाएर शालीन आन्दोलन थालिएको थियो ।
ती मागमध्ये धनगढी विमानस्थल कालोपत्रे, सुदूरपश्चिम विश्वविद्यालय स्थापना, अप्टिकल फाइबर बिछ्याउनेबाहेकका अधिकांश माग अझै पूरा हुन सकेका छैनन् । अप्टिकल फाइबर बिछ्याउने काम व्यवसायीले माग गरेर नभई नेपाल टेलिकमको आफ्नो नियमित कार्यक्रमअनुसार भइरहेको व्यापारीको बुझाइ छ ।
तत्कालीन समयमा पेश गरिएका मागमध्ये गेटा मेडिकल कलेज स्थापना, खुटिया— दिपायल ‘फाष्ट ट्रयाक’ निर्माणलगायत केही भने कार्यान्वयनका चरणमा छन् । मेडिकल कलेज निर्माण अन्तिम चरणमा पुग्दा फाष्ट ट्रयाक निर्माणको काम भने अपेक्षानुसार अघि बढ्न सकेको छैन ।
महाकाली नदीमाथि पुल निर्माणाधीन छ । विशेष आर्थिक क्षेत्र, क्षेत्रीय पर्यटन कार्यालय, सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र स्थापना, झुलाघाटमा पुल निर्माण, गौरीफन्टा सीमा नाकाको स्तरोन्नतिलगायत प्रदेशको विकासमा ठूलो महत्व राख्ने माग पूरा हुन सकेको छैन । प्रदेशमा दैनिक हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलको स्तरोन्नति भइरहेको छ ।
सो विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउनुपर्ने माग पनि उठ्दै आएको छ । उद्योग स्थापना गर्नेलाई कम्तीमा पनि दश वर्षसम्म ट्याक्स फ्रि जोन(करमुक्त क्षेत्र) घोषणा गर्नुपर्ने माग पनि तत्कालीन समयमा गरिएको थियो ।
वि.सं २०६३ मा भएको पहिलो सुदूरपश्चिम महोत्सवमा प्रमुख अतिथिका रुपमा आमन्त्रित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई २१ किलोको माला पहि¥याउँदै २१ बुँदे माग पेश गरेर शालीन आन्दोलन थालिएको थियो ।
त्यसयता भएका महोत्सवमा प्रमुख अतिथिका रुपमा पालैपालो आमन्त्रित सुवास नेम्वाङ, पुष्पकमल दाहाल ‘प्रचण्ड‘ डा रामवरण यादवलगायत राष्ट्रका शीर्ष व्यक्तित्वलाई पनि आयोजकले २१ किलोको माला लगाएर २१बुँदे मागसहितको दवाव दिएको थियो ।
हलिया, कमैया, छुवाछुत, छाउपडी जस्ता कुप्रथाको प्रदेशका रुपमा विगतमा चिनिएको सुदूरपश्चिम प्राकृतिक, धार्मिक, सांस्कृतिक दृष्टिमा सुन्दर ठाउँ हो भनेर चिनाउँदै कृषि, उद्योग, व्यापार पर्यटनलगायत प्रबद्र्धन गरी आर्थिक समृद्धिको बाटामा डो¥याउने मनसाय राखेर महोत्सव थालनी गरिएको थियो ।
सुदूरपश्चिममा रहेका सम्भावनालाई उजागर गर्दै तिनको प्रवद्र्धनमा टेवा पु¥याउन सङ्घले पहिलो पटक प्रदेशका खप्तड, महाकालीमाथिको झोलुङ्गे पुल, कर्णाली पुल, घोडाघोडी ताल, अपि र शैपाल हिमाल, उग्रतारा शैलेश्वरी, वैद्यनाथ धाम जस्ता प्रदेशका पर्यटकीय महत्वका धार्मिक, प्राकृतिक र सांस्कृतिक रुपमा आकर्षक तस्वीरका पोष्टर प्रकाशन गरी वितरणसमेत गरेको थियो ।
'सुन्दर सुुदूरपश्चिम' लेखिएका ती पोष्टर सुदूरपश्चिम प्रदेशबाट बाहिर जाने यातायातका साधनमा समेत टाँसिएको अहिले पनि देख्न सकिन्छ । 'सुदूरपश्चिम प्रदेशलाई चिनाउन र यहाँका सम्भावना उजागर गर्नकै लागि पोष्टर प्रकाशन गरेर वितरण गर्ने अभियान चलायौँ ।'
सङ्घको तत्कालीन कार्यसमितिका सचिव दिनेशराज भण्डारीले भने, 'अभियानबाट केही हदसम्म यो प्रदेशका सम्भावना पनि उजागर गर्न मद्दत पुगिरहेको छ । शालीन ढङ्गको दवाव दिएर माग पेश गरिएको थियो तर राज्यको शीर्ष तहमा पुग्ने नेतृत्वबाट माग पूरा गर्नमा तत्परता देखाउन नसकेको महसुस भइरहेको छ ।'
पछि परेको सुदूरपश्चिम प्रदेशमा विकासका पूर्वाधार जुटाउन राजनीतिक तह र राष्ट्रको शीर्ष नेतृत्वलाई झक्झक्याउनकै लागि नाराजुलूस नगरी यस्तो आन्दोलन गरिएको धनगढीका पर्यटन व्यवसायी मायाप्रकाश भट्ट बताउँछन् ।
सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा राजनैतिक नेतृत्व गम्भीर नहुँदा माग पूरा हुन नसकेको बताउँछन् । उनले भने, 'वर्षमा एक माग पूरा गर्ने तत्परता देखाउन सकेको भए अहिलेसम्म १४ माग पूरा भइसक्थे ।'
कम्तीमा पनि धनगढी विमानस्थलको स्तरोन्नति गर्दै अन्तरराष्ट्रिय विमानस्थल निर्माण, चीन र भारत जोड्ने उत्तर–दक्षिण हुँदै ‘कनेक्टिभिटी’ को व्यवस्था, औद्योगिक क्षेत्रको स्थापना र सुख्खा बन्दरगाह निर्माणसम्म हुन सकेमा प्रदेशको विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यवसायीको छ ।
'सुदूरपश्चिम महोत्सव' नाम दिएर प्रदेशमा मेलामहोत्सव कैलाली उद्योग वाणिज्य सङ्घले नै शुरुआत गरेको थियो । पछिल्ला वर्षमा अन्य ठाउँमा समेत मेलामहोत्सवको आयोजना गर्ने प्रतिस्पर्धा देखिन थालेको छ ।
तत्कालीन समयमा कच्ची अवस्थामा रहेको धनगढी विमानस्थलाई कालोपत्रेसहित स्तरोन्नति गर्ने गराउने पहलस्वरुप उद्योग वाणिज्य सङ्घको नेतृत्वमा एकपैसे अभियानसमेत चलाइएको थियो ।
प्रदेशको विकासमा सबै प्रदेशवासीलाई सहभागी गराई विकासप्रति अपनत्वको भावनाको विकास होस् भनेर चलाइएको सो अभियानपछि नै धनगढी विमानस्थल कालोपत्रे गर्न सम्भव भएको सङ्घका तत्कालीन कार्यालय प्रमुख डिल्लीराज शर्मा बताए ।
'यो अभियानपछि नै धनगढी विमानस्थल कालोपत्रे गर्न रु चार करोडमा ठेक्का लागेकामा रु दुई करोड उद्योग वाणिज्य सङ्घको नेतृत्वमा निजी क्षेत्रले जुटाउने जिम्मा लियो, बाँकी रु दुई करोड सरकारले व्यहोरेको थियो” उनले भने, त्यसपछि भने बल्ल राज्यलाई यो एयरपोर्टको स्तरोन्नति गर्नुपर्छ भन्ने लाग्यो ।'
ठाउँठाउँमा हुने गरेका मेलामहोत्सवले संस्कृति सम्वद्र्धनका साथै आर्थिक क्रियाकलापमा सकारात्मक प्रभाव परेको देखिएको जनाइएको छ ।
कोरोनाको कहरः मेलामहोत्सव प्रभावित
यस वर्षको ‘सुदूरपश्चिम महोत्सव’ भने कोरोनाको जोखिमका कारण स्थगन गरिएको छ । हरेक वर्ष मङ्सिर २२ गतेदेखि शुरु गरिने महोत्सव कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण यस वर्ष स्थगन गर्नुपरेको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
'कोरोना भाइरसको अवस्था समान्य भएमा महोत्सव आयोजना गर्न अर्को मिति तय गर्ने तयारी छ”, सङ्घका महासचिव ओम विष्टले भने, कोरोनाको कारण सबै भन्दा बढी मारमा व्यापारी परेका छन् ।'
कैलाली, कञ्चनपुरलगायत जिल्लाका ठाउँठाउँमा वर्षेनी मङ्सिरदेखि आयोजना गरिने मेलामहोत्सव यस वर्ष कोरोनाको जोखिमका कारण स्थगन गरिएपछि महोत्सवबाट देखिने रौनक पनि हराएको छ ।
प्रतिक्रिया