माछाको माग धान्न कठिन

५ बर्ष अगाडि

काठमाडौं- दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पहिलेको समयमा नदी, खोला र प्राकृतिक पोखरीमा पालिने माछा पछिल्लो समयमा व्यावसायिकरुपमा पाल्न थालिएको छ ।

उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो । जिल्लामा केही वर्ष अगाडिसम्म केही किसानले मात्रै माछापालन गर्दै आएको भए पनि अहिले व्यावसायिकरूपमै माछापालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । माछापालनका लागि दाङमा उपयुक्त माटो र हावापानीले साथ दिएकाले यसतर्फ युवाको आकर्षण बढेको हो । 

देउखुरीमा लमही नगरपालिका र गढवा गाउँपालिकामा माछापालन फस्टाएको छ भने घोराही उपहानगरपालिका–५ धर्ना माछापालनका लागि पकेट क्षेत्र घोषणा गरेर माछापालक किसानलाई अनुदान तथा प्राविधिक सहयोग प्रदान हुँदै आएको छ । बजारमा माछाको माग बढेसँगै माछापालनमा आकर्षण बढ्दै गएको माछा उत्पादक किसानको भनाइ छ । 

जिल्लामा वर्षेनी माछापालन व्यवसायीको सङ्ख्या बढ्दै गएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको तथ्याङ्कमा उल्लेख छ । मत्स्य विकास अधिकृत यादवका अनुसार हालसम्म रु सात करोड बढी लगानी भएको छ । दुई सय १७ जना कृषकले माछापालन व्यवसाय गर्दै आएकामा ६५ जनाले व्यावसायिकरुपमा माछापालन गर्दै आएको कार्यालयको भनाइ छ । 

जिल्लामा ५०१ पोखरी तथा ३० घोल तालमा माछापालन गरिँदै आएको छ । हाल १२५ हेक्टर क्षेत्रफलमा माछापालन भएको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना शुरु भएसँगै माछापालक व्यवसायलाई प्रवद्र्धनका लागि अनुदान सहयोग हुन थालेपछि जिल्लामा माछापालन व्यवसाय बढ्दै गएको छ । 

जिल्लामा हुने माछा उत्पादनले यहाँको माग धान्न सकेको छैन । करीब ७५० मेट्रिक टन माछाको आवश्यकता छ । हाल वर्षिक ५९५ टन माछा उत्पादन हुँदै आएको छ । बाँकी आवश्यक माछा भारतबाट ल्याउने गरिएको छ । 

बैखा र मङ्गुर माछा भारतबाट ल्याउने गरिएको हो । खासगरी जिल्लामा माछाको याम नभएका समयमा बाहिरबाट आयात गर्नुपरेको छ । वैशाख, जेठ, असार महिनाको समयमा भारतबाट माछा ल्याउने गरिन्छ भने अन्य समयमा जिल्लाको उत्पादनले पुग्ने गर्दछ । दाङमा वैशाखदेखि मङ्सिरसम्म माछा उत्पादन हुने राम्रो समय मानिन्छ ।

बैखा माछा एक कठ्ठामा चार क्विन्टल उत्पादन हुन्छ भने कार्व जातको माछा दुईदेखि चार क्विन्टल उत्पादन हुने गरेको किसानहरु बताउँछन् । खासगरी बैखा र मङ्गुर जातका माछा भारतमा उत्पादन हुन्छ भने कार्व जातको माछा यहाँ उत्पादन हुन्छ । 

पछिल्लो समय जिल्लामा माछापालन व्यवसायमा यान्त्रिकीकरण भित्रिँदै गएको छ भने उत्पादन र हेक्टर क्षेत्रफलसमेत बढेको छ । यहाँ उत्पादन भएको माछाले माग धान्ने गरी गतिविधि गरिएका छन् । हाल जिल्लामा उत्पादित माछा नेपालगञ्जलगायत पहाडी जिल्ला रोल्पा, रुकुम, सल्यान र प्यूठानमा निर्यात गरिन्छ ।

जिल्लामा यसवर्ष माछापालन गतिविधिका लागि बजेट कम आएको मत्स्य विकास अधिकृत यादवले बताउनुभयो । गत वर्ष कोरोना भाइरसका कारण पोखरी निर्माणलगायतका काम गर्न नसकेका कारण माछाका लागि बजेट कम भएको हो । 

यस आर्थिक वर्षमा रु १२ लाख आएको छ । गत वर्ष कोरोनाका कारण करीब रु एक करोड बजेट खर्च हुन सकेन । यस्तै यस वर्ष व्यावसायिक फर्म सुदृढीकरण, यान्त्रिकीकरण, पोखरी निर्माण गर्नेका लागि व्याज, अनुदानलगायतका कार्यक्रम रहेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया