ग्लोबल आइएमई बैंक लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत लाभांश गरेको छ । बैंकको कर्पोरेट भवन कमलादीमा आज सम्पन्न १४ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को कुल मुनाफाबाट १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्व ६३ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्ष २०७६/७७ मा ४ अर्व १७ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको बैंकले कर पछिको मुनाफा २ अर्व ९१ करोड रुपैयाँ आर्जन गरेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा बैंकको ब्याज आम्दानी तर्फ गत वर्ष भन्दा ६ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाईरसको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्व ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापन वापत रकम छुट्याउनु परेकोले बैंकको खुद मुनाफामा ५.३१ प्रतिशतले मात्र वृद्धि भई २ अर्व ९१ करोड रुपैयाँ मात्र कायम हुन सकेको छ ।
राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप ग्लोबल आइएमईमा हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु समाहित भएका छन् । साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक बनेको छ ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए ।
उनले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
देशभर ७३ जिल्लामा २६४ शाखा सञ्जाल सहित करिब ८०० सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले हाल २ खर्ब ४९ अर्ब रुपैया भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
तीन हजार भन्दा बढी कर्मचारीहरुमार्फत सेवा दिइरहेको बैंकका करिब २२ लाख ग्राहक छन् ।
प्रतिक्रिया