२४ लाखको लागतमा ३१ वर्षपछि बन्यो सडक

५ बर्ष अगाडि

करीब ३१ वर्षपछि ओखरकोट जाने सडक निर्माण भएको छ। प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयदेखि प्यूठान नगरपालिका–३ विजयनगर पुग्ने बाटो निर्माण भएको हो । वर्षेनि सडकका लागि धेरै निकायबाट बजेट विनियोजन भए पनि यहाँ सडक निर्माण हुन सकेको थिएन । 

आर्थिक वर्ष २०७५÷०७६ र आव २०७६÷७७ मा नगरपालिकाबाट विनियोजन रकमबाट यस ठाउँमा सडक निर्माण गरिएको हो । आव २०७५÷७६ मा करीब ८० मिटर सडक निर्माण भएको थियो ।  आव २०७६÷७७ मा पहिरो व्यवस्थापन, सडक चौडा, सवारीसाधन जानका लागि सिलिप निर्माण र होम पाइप राखिएको थियो ।

 सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७५÷७६ मा रु २१ लाख ३१ हजार र  आव २०७६÷७७ मा  वडा कार्यालयबाट विनियोजित रु दुई लाख ८५ हजार बजेटमा सडक निर्माण सम्पन्न भएको हो । धेरै पटक सडक बनाउनका लागि बजेट विनियोजन भए पनि सही ढङ्गले काम नभएपछि आफ्नो नेतृत्वमा उपभोक्ता समिति गठन गरी दिगोरुपमा सञ्चालन हुने मनसायका साथ सडक निर्माण गरेको अध्यक्ष सुमन श्रेष्ठले बताए ।

लामो समयदेखि सडकको पर्खाइमा रहेका विजयनगरका स्थानीयवासी हाल सडकको पहुँचमा पुगेका छन् । सडक निर्माण भएसँगै यस क्षेत्रका करीब तीन हजार घरधुरीका जनता प्रत्यक्ष लाभान्वित भएका छन् । विकास निर्माणका कामले यस ठाउँसम्म निरन्तररुपमा सवारी साधन चल्ने  हुँदा स्थानीयवासीलाई थप सहजता मिलेको छ । लामो समयदेखि सडकको समस्या भोग्दै आएका यहाँका नागरिकले सडक निर्माणको काम सम्पन्नपश्चात् राहत मिलेको छ  ।     

यस क्षेत्रमा सडक  नहुनु  र भए पनि साँघुरो हुँदा वर्षेनि मोटरसाइकल दुर्घटना हुनाका साथै कैयौँ व्यक्तिको ज्यानसमेत गएको थियो । नगरपालिका क्षेत्र भए पनि बजार क्षेत्रकै छेउमा रहेको सडक लामो समयदेखि निर्माण नहुँदा स्थानीयवासी चिन्तित भएका थिए । सडक सम्पन्न भएसँगै पढ्नका लागि आवतजावत गर्ने विद्यार्थीसँगै विजय नगरवासीलाई फाइदा पुगेको  छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया