ग्लोबल आइएमई बैंकको अध्यक्षमा फेरी ढकाल, यी हुन नव निर्वाचित सञ्चालक सदस्य

५ बर्ष अगाडि

ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा फेरी पनि  चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । 

आज बुधबार सम्पन्न १४औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको हो । 

नव निर्वाचित सञ्चालक सदस्यहरुमा संस्थापक तर्फबाट क्याबिनेट श्रेष्ठ र  रामबहादुर भण्डारी, सर्वसाधारण तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा र दिपक शर्मा पोखरेल रहेका छन् ।  

नव निर्वाचित अध्यक्षलाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराए ।

प्रत्यक्ष र भर्चुअल माध्यमबाट गरी सञ्चालन गरिएको बैंकको १४औैैैँ साधारण सभामा बैंकका शेयर सदस्यहरु, कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

गत आर्थिक वर्ष २०७६/७७ मा ४ अर्व १७ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको बैंकले कर पछिको मुनाफा २ अर्व ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । 

आर्थिक वर्ष २०७६/७७ मा बैंकको व्याज आम्दानी तर्फ गत वर्ष भन्दा ६ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाईरसको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्व ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापन वापत रकम छुट्याउनु परेकोले बैंकको खुद मुनाफामा ५।३१ प्रतिशतले मात्र वृद्धि भई २ अर्व ९१ करोड रुपैयाँ मात्र कायम हुन सकेको छ । 

राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप ग्लोबल आइएमईमा हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु समाहित भएका छन् । साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । 

साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए । 

उनले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । 

देशभर ७३ जिल्लामा २६४ शाखा सञ्जाल सहित करिब ८०० सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले हाल २ खर्ब ४९ अर्ब रुपैया भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । 

तीन हजार भन्दा बढी कर्मचारीहरुमार्फत सेवा दिइरहेको बैंकका करिब २२ लाख ग्राहक छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया