अरुबाट लिएको ऋण नतिर्नका लागि आफ्नै आँखामा खुर्सानीको धुलो हालेर लुटिएका बाहना बनाउने एकजना युवा अफै फसेका छन् । आफु लुटिएको भनेर प्रहरीलाई झुटो खवर गर्ने रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका वडा नंं. ६ का २५ बर्षीय हुकुम पुन मगर लाई दाङ प्रहरीले पक्राउ गरेको हो ।
मगरले पुस २६ गते राति साढे ९ बजेतिर आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेर आफुलाई घोराहीको शहिद गेटमा युवाहरुको एक समुहले आँखामा खुर्सानीको धूलो छर्केर चार लाख ३६ हजार रुपैंया लुटेर लगेको बताएका थिए ।
मगरले आफैं प्रहरी कार्यालयमा पुगेर लुटिएको बेहोरो अवगत गराउँदै सहयोग मागेपछि प्रहरीले मगरलाई समेत साथमै लगेर तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान गर्दा उनले झुटो बोलेको पत्ता लागेपछि उनी पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय दाङले घोराहीमा पत्रकार सम्मेलन गरेर मगरले तिर्नुपर्ने पैसा नतिर्नका लागि आफै नाटक गरेर प्रहरीलाई उल्लु बनाउन खोजेपनि आँफै फसेको जानकारी दिएको छ ।
उनले रोल्पाको फगाम निवासी हरि पुनलाई तिर्नुपर्ने ४ लाख रुपैंया तिर्नु नपरोस भनेर आफैं खुर्सानीको धुलो किनेर आफैले आफैलाई छर्किएर झुटो नाटक गरेको खुल्न आएको बताएको छ ।
प्रहरीले गलत सूचना गरि झुट्टा अपबाफ फैलाउन खोज्ने मगर बिरुद्ध शान्ति बिरुद्धको कसुरमा मुद्दा चलाएर आवश्यक कारवाही थालेको छ ।
प्रतिक्रिया