काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन संघले आर्थिक लाभलाई मात्र प्राथमिकता नदिएर विज्ञापनले समाज तथा बालबालिकामा परिरहेको प्रभावका बारेमा अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताएका छन्।
नेपाल विज्ञापन संघ (आन)को २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले विज्ञापनले समाज, उपभोक्ता र विशेषगरी बालबालिकामा पर्ने असरप्रति विज्ञापन संघ जिम्मेवार हुनुपर्ने पनि बताए।
उनले भने, ‘विज्ञापन संघले विज्ञापन गरिरहँदा ती विज्ञापनबाट जुन उत्पादित वस्तुहरु छन् त्यो वस्तुहरुको गुणस्तर कस्तो छ? गुणस्तर विभागले त्यसको प्रमाण दिएको हुन सक्छ। दुर्गम तथा दूर दराज क्षेत्रमा गुणस्तरहीन वस्तु पुग्दा ती ग्रामिण बस्तीमा ती वस्तुहरुको मिति नाघेको छ या छैन, उपभोग गर्न योग्य छन् या छैनन्, कति गुणस्तर छ भन्ने कुरा बुझ्न नसकिदा त्यहाँका उपभोक्तामा पर्ने मारप्रति विज्ञापन संघले कति चिन्ता गर्ने गरेको छ? यसप्रति हाम्रो मानवियता र सामाजिक भावना कति बुझ्ने गरेका छौँ? यो मेरो प्रश्न हो। त्यसैले विज्ञापन संघ त्यसतर्फ कति जिम्मेवार छ?’
उनले अघि थपे, ‘विज्ञापनका आधारमा बालबालिकाले उपभोग गर्ने वस्तुहरुले उनीहरुमा कस्तो असर पार्छ? त्यसतर्फ ध्यान दिनुपर्छ। ती वस्तुहरुले समाज र दूर दराजका जनताहरुले के कस्तो उपभोग गर्न सक्छन्? शहरमा पनि त्यसले कति प्रभाव पार्न सक्छ यी वस्तुहरुप्रति पक्कै पनि विज्ञापन संघले आफ्नो कार्य योजनामा ध्यान दिन जरुरी छ।’
यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यप्रति जवाफदेही तथा जिम्मेदार भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय दृष्टिकोणलाई पूरा गर्न सकिने मन्त्री गुरुङको भनाइ छ।
समृद्धिको बाटोमा जान सरकार र विज्ञापन संघबीच साझेदारी गर्न आफू तयार रहेको मन्त्री गुरुङले बताए।
‘विज्ञापन संघले नेपाल सरकारका कतिपय राष्ट्रिय गौरवका कार्यक्रमहरु, समृद्धिका कार्यक्रम, सामाजिक रुपमान्तरणका कुराहरु गरेको छ,’ उनले भने, ‘विज्ञापन संघले त्यस्तो विज्ञापन पनि गर्न सक्ने त्यो किसिमको एउटा मापदण्ड सरकारसँग गरौँ र सरकारले गरेका कमजोरीका बारेमा संघले विज्ञापन भन्न सकून्।’
यस्तै उक्त कार्यक्रममा मिडिया अलायन्सका अध्यक्ष भाष्कर राजकिर्णकारले कोरोनाकाल संचार जगत, विज्ञापन व्यवसायका साथै सबैका लागि चुनौतीपूण तथा आर्थिक रुपमा जटिल घडीमा उभिएको बताए।
तर उनले यसैबीच नीतिगत रुपमा लागु भएको क्लिन फिड सम्भावनाको माध्यम बनेर आएको बताए। क्लिन फिडका कारणले नेपालको विज्ञापन व्यवसाय फस्टाउने उनले बताए।
‘विश्वको अर्थतन्त्रमा विज्ञापन तस्विरको रुपमा रहेको छ। नेपालको सामाजिक र आर्थिक विकाससँगै फस्टाउन नसकेको ब्राण्ड या घाटामा गएकोलाई विज्ञापन माथि उठाउन सक्छ,’ उनले भने, ‘नेपालको ०.६ प्रतिशत आर्थिक वृद्धिलाई कसरी अगाडि बढाउने भन्ने बेला विज्ञापन यसको आधार बन्न सक्छ।’
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोही कार्यक्रममा बोल्दै क्लिन फिड लागु भएपछि यसबाट बढीभन्दा बढी ‘रेभिन्यू’ बढ्ने आफूहरुले आशा लिएको बताए। यसले विज्ञापन व्यवसायलाई अझ बढी विस्तार गर्नेपनि विश्वास लिएको उनले बताए। तर यससँगै चुनौती पनि रहेको उनले बताए।
उनले आगामी बाटो तय गर्न सरकारसँग छिट्टै विज्ञापन नीति ल्याउन आग्रह गरे। ‘कोरोना भाइरसका कारणले सबै क्षेत्रसँगै संचार प्रभावित भएका बेला सरकारको नजरमा विज्ञापन व्यवसाय कसरी न्यून प्रभावित हुन सक्छ। यसमा पुनः विचार होस्,’ उनले भने।
प्रतिक्रिया