काठमाडौं- बादल हटेर आकाश खुला भएपछि वायु प्रदूषण कम भएको छ । तर जाडोे समयमा प्रदूषण अलि बढी नै हुने गर्छ । गएको दुई तीन, दिन बादल लागेर मौसम बद्ली हुँदा प्रदूषण धेरै नै बढ्यो ।
जाडो समयमा पानी राम्ररी नपरेका कारण आकाश खुल्दा पनि प्रदूषणको मात्रा अझै धेरै नै छ । प्रदूषणको मात्रा केही घटेको हो । तर पुरै घटेको छैन । आकाश खुलेर हावा चल्न थालेपछि वायु प्रदूषण थोरै घटेको छ । प्रदूषण घटेको कुरा सत्य हो । तर ढुक्क भने हुन सकिँदैन ।
आकाश पुरै खुल्नुको अर्थ प्रदूषण धेरै नै घट्यो भन्ने चाही होइन । बादल लागेर प्रदूषण बाहिर जान पाएन । जसले गर्दा प्रदूषण जहाँको त्यही रह्यो । अनि उकुसमुकुस भयो । आकाश केही खुलेपछि प्रदूषण हावामा मिसिन्छ । त्यसपछि प्रदूषण बाहिर जान पाउँछ ।
हामीले नै प्रदूषण उत्पादन गर्ने भएकाले हावा चल्दा वा घाम लाग्दा पनि प्रदूषण रहीरहन्छ । तर हिजोअस्तिको जस्तो उच्च अवस्थामा पुग्दैन । काठमाण्डौमा पहिला पनि प्रदूषण थियो । आज पनि छ । हामीले नियन्त्रणका लागि केही पनि गरेनौँ भने भोलि पनि हुनेछ ।
जाडो समयमा जमिन निक्कै चिसो हुन्छ । बादल लागेपछि ढक्कनको काम गर्ने भएकाले प्रदूषण बाहिर जान पाउँदैन । जसका कारण प्रदूषण बढ्ने गर्छ । घाम लागेपछि मात्रै प्रदूषण बाहिर जान पाउँछ । जाडो महिनामा पानी नपर्ने वा परे पनि थोरै पर्ने भएकाले पनि प्रदूषणको जोखिम धेरै हुन्छ ।
यस्तै जाडोमा प्रदूषण उत्पादन गर्ने स्रोत पनि धेरै हुन्छन् । चिसोबाट बच्नका लागि धेरैले आगो बाल्छन् । आगो बाल्दा पनि वातावरण प्रदूषित हुन्छ । इँटाभट्टाहरु जाडो महिनामा सञ्चालन गरिन्छ । त्यसले पनि वातावरण प्रदूषित बनाउनमा भूमिका खेल्छ । यसवर्ष कोरोना भाइरसका कारण धेरै इँटाभट्टा सञ्चालनमा छैनन् । थोरै सञ्चालनमा भए पनि त्यसले पनि प्रदूषण बढाउँछ । हाम्रै कारणले वातावरण प्रदूषित हुन्छ, प्रकृतिले बाहिर जानबाट रोक्छ ।
काठमाण्डौ उपत्यका कचौरा आकारको भएकाले हावा बाहिर जाने ठाउँ सीमित छ । जसले गर्दा प्रदूषण जहाँको त्यहीँ रहने सम्भावना धेरै हुन्छ । काठमाण्डौ घनाबस्ती भएको ठाउँ हो ।काठमाण्डौमा अरु पनि थुप्रै प्रदूषणका स्रोतहरु छन् । गाडीहरु धेरै छन् । त्यसकारण पनि काठमाण्डौ उपत्यकालाई वायु प्रदूषणको जोखिमका हिसाबले बढी संवेदनशील क्षेत्र मानिन्छ ।
सरकारले काठमाण्डौको वायु प्रदूषण नियन्त्रणका लागि कार्ययोजना नै बनाइसकेको छ । त्यसलाई मन्त्रिपरिषद् बैठकले पनि स्वीकृति दिइसकेको छ । तर कार्यान्वयन हुन सकेको छैन । प्रदूषण वातावरणको मात्रै समस्या होइन । जनस्वास्थ्यको समेत समस्या हो । यो भनेको सबै नागरिकको स्वास्थ्यको समस्या हो ।
प्रतिक्रिया