काठमाडौं- सामाजिक सञ्जाल ट्विटरले आफ्नो ट्वीट हटाइदिएको समसामयिक तथा सार्वजनिक विषयका प्रखर वक्ता खगेन्द्र सङ्ग्रौलाले दाबी गरेका छन् ।
चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा बेपत्ताको विषयमाथि टिप्पणी गरेको आफ्नो ट्वीट गायब बनाइएको गुनासो संग्रौलाको छ ।
आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट आफ्नो अघिल्लो ट्वीट बेपत्ता भएको भन्दै सङ्ग्रौलाले लेखेका छन् :
‘‘उल्का भो !
चीनका महाधनाढ्य ज्याक मा बेपत्ता भएको प्रसङ्गमा चीनमा नागरिकको सुरक्षा र अस्मिताको हालतबारे हिजो बेलुका ट्वीट गर्याथेँ, मेरो वालबाट त्यो ट्वीट गायब भएछ। यो गायब पार्ने चिनियाँ “समाजवाद” हो कि, सी विचारधाराका नेपाली अनुयायी हुन् कि कुनै चटके चोर हो रु थाहा चाहियो !’’
गत अक्टोबर २४ मा चिनियाँ सरकारको वित्तीय प्रणालीका बारेमा खरो टिप्पणी गरेका ज्याक मा विगत दुई महिनादेखि गुमनाम भएपछि अहिले ट्विटर लगायत सामाजिक सञ्जालमा यस विषयलाई लिएर टिप्पणीहरू उठ्न थालेका छन् ।
सरकारको टिप्पणी गरेको केही दिनमा चिनियाँ सरकारले माको कम्पनी आन्ट ग्रुपको शेयर निश्काषनलाई एकाएक रोकिदिएको थियो । विश्वको ठूलो आईपीओ भन्ने गरिएको आईपीओ एकाएक रोकेको सरकारले उनको फिनटेक तथा आन्ट ग्रुपमाथि एकपछि अर्को गर्दै श्रृंखलावद्ध रुपमा अनुसन्धान र जाँचको थालनी गरेको छ ।
आन्ट ग्रुपलाई अवैधानिक एकाधिकार प्रवृत्तिको अभ्यास गरेको भन्दै प्रशासनले त्यसलाई परिमार्जन गर्न समेत उनलाई अल्टिमेटम दिएको थियो । ज्याक मा आफैले तयार गरेको अफ्रिकन टिभी प्रोग्रामको अन्तिम एपिसोडमा समेत उपस्थित भएनन् ।
यद्यपि आफ्नो प्रतिकूल समयमा निस्क्रिय बस्ने कुरा चिनियाँ उद्योगी तथा व्यक्तित्वहरुका लागि नयाँ कुरा भने होइन । यसअघि जेडडी डटकमका संस्थापक रिचार्ड ल्युले बलात्कारको आरोपपछि गत वर्ष चीनको महत्वपूर्ण राजनीतिक समारोहमा उपस्थिति जनाएका थिएनन् ।
यस्तै टेन्सेन्टका संस्थापक पोनी माले पनि एक वर्षसम्म सार्वजनिक रुपमा ओझेल भएर आफ्नो प्रोफाइललाई लो राखेका थिए ।
प्रतिक्रिया