काठमाडौं – कोरोना बीमामा हालसम्म २ अर्ब भन्दा बढी दावी भुक्तानी भइसकेको छ । बीमा समितिको मंगलबारसम्म तथ्यांकले यस्तो देखाएको हो । मंगलबारसम्म २१ हजार ५०१ जनाले रु. २ अर्ब ९ करोड ६३ लाख २५ हजार भुक्तानी लिएका छन् ।
हालसम्म बीमा कम्पनीहरुमा ४२ हजार १५३ ओटा पुर्ण कागजपत्र सहितको आवेदन आएको छ । त्यसमा यतिका बीमितले दावी प्राप्त गरेका हुन् ।
यस्तै, १२ हजार १५४ ओटा आवेदन प्रमाणिकरणका लागि स्वास्थ्य मन्त्रालय पठाइएको छ । त्यसमा ४ हजार ९०० ओटा आवेदन प्रमाणिकरण भएर आइसकेको छ । त्यो अनुसार अझै मन्त्रालयमा ७ हजार २५४ ओटा आवेदन प्रमाणिकरणका लागि पेन्डिङमा रहेको छ ।
यस्तै, ३४३ आवेदन मन्त्रालयमा पठाउन तयारी अवस्थामा रहेको छ । यसका अलावा २ हजार ५४९ ओटा आवेदन भने कागजपत्र पुरा नभएपछि बीमा कम्पनीहरुलाई फिर्ता पठाइएको छ ।
पहिला बीमा कम्पनीहरुले कोरोना बीमाको दावी भुक्तानीमा एकदमै ढिलाई गरेका थिए । तर, गत कात्तिकमा अर्थमन्त्री विष्णु पौडेलले दावी भुत्तानी छिट्टै गर्न निर्देशन दिएपछि बीमा कम्पनीहरुले दावी भुक्तानीलाई फास्ट ट्रयाकमा गरेको देखिन्छ।
प्रतिक्रिया