परीक्षा सञ्चालनको टुङ्गो नलाग्दा, तयारीमा जुटेका अलमल

५ बर्ष अगाडि

काठमाडौं- कोरियाली भाषा परीक्षा सञ्चालन हुने टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका युवा अलमलमा परेका छन् । 

आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार लैजाँदै आएको थियो । परीक्षा कहिले गर्ने भन्ने टुङ्गो नलाग्दा परीक्षाको तयारी गरेका युवामा भने निराशा छाएको छ । 

कोरियाले प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ रोजगारीको अवसर प्रदान गर्दै आएको छ । कोरियाले अझै पनि भाषा परीक्षा कहिले गर्ने भनेर टुङ्ग्याउन सकेको छैन । 

यस्तै परीक्षा प्रणालीका बारेमा पनि निक्र्योल हुन सकेको छैन । कोभिड–१९ का कारण सन् २०२० मा पनि भाषा परीक्षा सञ्चालन हुन सकेन । गत वर्ष भाषा परीक्षा सञ्चालन हुन नसके पनि यस वर्ष (सन् २०२१ मा) परीक्षा सञ्चालन गर्ने मौखिक जानकारी आएको इपिएस कोरिया शाखाले जनाएको छ । 

कोरियाले भाषा परीक्षा सञ्चालन गर्ने भने पनि कहिले र कसरी गर्ने भन्ने विषयमा अझै स्पष्ट पारेको छैन । 
“भाषा परीक्षा सञ्चालन गर्ने तयारी गर्दैछौँ भन्ने जानकारी आएको छ”, शाखाका निर्देशक इन्द्र गौतमले भने, “लिखित पत्राचार तथा छलफल भएर यो समयमा परीक्षा गर्ने भन्ने तोकिएको छैन ।” 

यसघि सन् २०१२ मा पनि भाषा परीक्षा रोकिएको थियो । यद्यपि कोरियाले सन् २०२१ को पहिलो त्रैमासमै भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको बुझिएको छ ।  कोरियाले यसपटकदेखि ‘कम्प्युटर बेस्ड टेस्ट’ (सिबिटी) परीक्षा लिने तयारी गरेको छ । यसअघि ‘पेपर बेस्ड टेस्ट’ (पिबिटी) परीक्षा हुँदै आएको थियो । 

यसपटकदेखि पिबिटी नगरी सिबटी परीक्षा गर्ने जानकारी आएको उनले बताए । “पिबिटी नगरी सिबिटी परीक्षा गर्ने औपचारिक निर्णय भइसकेको अवस्था होइन्”, निर्देशक गौतमले भने, “पिबिटी परीक्षामा पनि डेस्कटपभन्दा पनि ‘ट्याब’बाट अनलाइन परीक्षा लिने गरी तयारी गरिएको बुझिएको छ ।”

कोरियाली पक्ष सिबिटी परीक्षाका लागि सफ्टवेर निर्माणमा जुटेको छ । सफ्टवेयरको परीक्षण गर्ने काम पनि भइरहेको छ । परीक्षा भवन निर्माणको काम पनि लगभग अन्तिम चरणमा पुगेको छ । कोरियाली टोली आएर अनलाइन परीक्षाको सम्भाव्यता हेर्ने काम भइरहेको छ । 

अबदेखि पिबिटी परीक्षा नगर्ने कोरियाली पक्षले स्पष्ट पारिसकेको छ । “यो मितिमा परीक्षा गर्ने भन्ने छैन तर अब परीक्षा हुँदा ट्याबबाटै हुने कुरा छ”, उनले भने, “त्यहीअनुसारको पूर्वाधार तयारीको काम चल्दै छ, सिबिटीबाट परीक्षा सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको छ ।”

५ बर्ष अगाडि

प्रतिक्रिया