विकासका लागि सहकार्य हुन आवश्यक : मुख्यमन्त्री पौडेल

७ बर्ष अगाडि

काठमाडौँ – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ । 

सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज यहाँ शुभारम्भ गर्नुहुँदै उहाँले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि विकासको सूत्र बनाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

विकासलाई समृद्धिसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो । समाज परिवर्तन गराउनका लागि सरसफाइ तथा हरियाली प्रवद्र्धन पनि एउटा बाटो भएको उहाँको भनाइ थियो । 

फरक प्रसङ्गमा मुख्यमन्त्री पौडेलले काँग्रेसलाई पनि विकासमा साझेदारी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विकास सबैका लागि हो । विचार फरक हुन सक्छ तर विकास फरक हुँदैन ।” विकासप्रतिको अवधारणा स्पष्ट नहुँदा विकास निर्माणले तीव्रता पाउन नसकेको उहाँको भनाइ छ । 

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले चितवनको क्षेत्र नं २ को ९ख०मा मात्रै गत आर्थिक वर्षमा ६५ हजार फलफूलका बिरुवा रोपिएको जानकारी दिनुभयो । हरियाली कार्यक्रमलाई प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको पनि उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, वडाध्यक्ष राजेन्द्रमणि काफ्ले लगायतले बोल्नुभएको थियो । कार्यक्रमको शुभारम्भ अघि मुख्यमन्त्री पौडेलले वृक्षरोपण, शहरी बायोग्यास प्लाण्ट उद्घाटन, पानी शुद्धीकरण, फोहर व्यवस्थापन लगायतको उद्घाटन गर्नुभएको थियो । 

यस कार्यक्रमअन्तर्गत भरतपुर एक बगैँचा, सफा भरतपुर र हरियाली भरतपुर नाम दिएर फोहर व्यवस्थापन, सरसफाइ, वृक्षरोपण, पानीको शुद्धीकरण, शहरी बायोग्यास प्लाण्ट जस्ता कार्यक्रमहरु सञ्चालन गरिने सरसफाइ तथा हरियाली कार्यक्रम सञ्चालन समितिका अध्यक्ष केशव रेग्मीले जानकारी दिनुभयो ।

७ बर्ष अगाडि

प्रतिक्रिया