शुक्रवार पानीले डुबाएको क्षेत्रमा पुग्दा पीडितहरू हिलो पन्छाउँदै थिए । सफा गर्दै थिए । कंलकी मालपोत छेउमा किराना पसल सञ्चालन गर्दै आएकी एक महिलाले भनिन्, ‘सामान सबै पानीले बिगार्यो । लगभग २ लाख जति क्षति भयो ।’ उनले यसरी बाढी ५–७ वर्षमा एकपटक पसेर बिचल्ली पार्ने गरेको सुनाइन् ।
कलंकीमै भर्खरै आल्मुनियम उद्योग सञ्चालन गर्दै आएका रोशन चौधरीको पनि बाढीले क्षति गर्यो । अनुहार निन्याउरो पार्दै उनले गुनासो गरे, ‘भर्खरै आल्मुनियमको व्यवसाय सञ्चालन गरेको थिएँ । बाढी पसेर यस्तो हालत गरिदियो ।’ १ करोड लगानीबाट सञ्चालन गरेको उद्योगमा करीब २० लाखको क्षति भएको उनको भनाइ छ ।
कलंकी क्षेत्रमा बाढीले सबैभन्दा बढी असर पारेको महानगरीय ट्राफिक प्रहरी प्रभागलाई हो । शुक्रवारको बाढीले ट्राफिकको भवनको १ तला पूरै डुबाएको थियो । उनीहरू एकाबिहानै हिलो पन्छाउँदै सफा पानीले सफाइ गरिरहेका देखिन्थे ।
सफा गर्दै गरेका एक ट्राफिक प्रहरीले भने, ‘भवनको १ तलामाथिसम्म पानी आएको थियो । हामी बाहिरै गएर सुत्नुपर्यो ।’
बाढीका कारण कार्यालय परिसरमा भएको सवारीसाधनमा पनि क्षति पुगेको छ । मोटरसाइकल तथा गाडी हिलोले पुरिएको एक ट्राफिक प्रहरीले बताए ।
शुक्रवारको बाढीले कलंकी मालपोत छेउको पुल पनि बगाएको छ । शुक्रवार परेको अविरल वर्षाका कारण देशभर १७ जनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको सूचनाअनुसार शुक्रवार साँझसम्म १७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । भारी वर्षले देशभर विभिन्न ठाउँमा बाढी र पहिरोका कारण थप जनधनको क्षति हुन नदिन प्रहरीले सबैलाई सचेत रहन आग्रह गरेको छ ।
प्रतिक्रिया