नेपाल आउने भन्दा–भन्दै किन भारत जाँदै छन् चिनियाँ राष्ट्रपति सी

७ बर्ष अगाडि

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले भारतको भ्रमण गर्ने भएका छन् । भारतभन्दा पहिला सी जिनपिङ्गको नेपाल भ्रमण गर्ने इच्छा थियो तर नेपालले आवश्यक तयारी नगरेको कारण उनी भारत जान लागेका हुन् ।

राष्ट्रपति सीले अगस्त या सेप्टेम्बरमा नेपाल भ्रमण गर्ने मनस्थिति बनाएका थिए तर नेपालको तयारी नपुगेको कारण उनी भारत जान लागेको स्रोतको दावी छ ।

कम्युनिस्ट पार्टी एक भएर स्थिर सरकार निर्माण भएपछि नेपालको भ्रमण गर्ने उनको चाहना थियो । र, सोही अनुसार नेपाल पक्षसँग कुराकानी पनि भइरहेको थियो । तर नेपालको तर्फबाट आवश्यक नभएको चिनियाँ पक्षको बुझाई रहेको छ ।

तर परराष्ट्र मन्त्रालयका सहप्रवक्ता एवं उपसचिव सुरेश अधिकारीले आफूले पनि सञ्चारमाध्यमबाट नै चिनियाँ राष्ट्रपतिको भ्रमण हुने सुनेको तर मन्त्रालयबाट कुनै तयारी भइरहेको कुरा आफ्नो जानकारीमा नरहेको बताए । उनले भने, ‘यो हाइलेवलको कुरा हो ।’

नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरण भएपनि हालसम्म टुङ्गो लागेको छैन । एकता प्रकृयालाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद छ । त्यो विवादको असर सरकारमा पनि परेको छ । र, त्यसले सरकार पनि स्थिर नरहेको भन्ने चिनियाँ पक्षको ‘रिर्पोटिङ’ छ । त्यसबाहेक अन्य आन्दोलनका गतिविधि पनि नेपालमा भइरहेको हुनाले चिनियाँ राष्ट्रपति सी तत्कालै नेपाल नआउने स्रोतले दाबी गरेको छ ।

राष्ट्रपति सी अक्टोवरमा दिल्ली हुँदै उत्तर प्रदेशको बनारस जान लागेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वणारसमा आयोजना गरिने एक कार्यक्रममा सहभागी हुनका लागि त्यहाँ जान लागेका हुन् । भारतमा त्यसको तयारी चलिरहेको छ । चिनियाँ पक्षले वणारसको सुरक्षा अवस्थाको बारेमा जानकारी लिने काम गरिरहेको छ ।

चिनियाँ मामिलाका जानकार एवं भारतस्थित सिनियर फेलो इन्स्टिच्युट अफ पीस एण्ड कन्फिलिक्ट स्ट्डीका डा.प्रमोद जसवाल भन्छन्, ‘चिनियाँ राष्ट्रपति भारत जाने कन्फर्म भएको छ तर नेपालमा पनि उहाँको भ्रमण ढिलो–चाँडो हुने नै छन् ।’

नेपालमा देखिएको हालको राजनीतिक अवस्थका कारण भ्रमणमा ढिलाई भएको हुनुपर्छ नभए ढिलो चाँडो चिनियाँ राष्ट्रपनि सी नेपाल आउने उनको बुझाई छ ।

नेपालको मामलामा भारत र चीनले हेर्ने दृष्टिकोण फेरिएको बताउँदै उनले नेपालमा के गर्ने विषयमा चीन र भारत संयुक्त रुपमा सोच्ने दाबी गरे । भारत भ्रमणको क्रममा सी र त्यहाँका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग नेपालको विषयमा पनि कुराकानी हुने उनको दावी छ ।

‘चीनका राष्ट्रपति सी नेपाल भ्रमणमा मात्र आउने होइन । केही न केही ठूला प्रोजेक्टमा हस्ताक्षर पनि गर्ने हो । तर नेपालले कुन परियोजनामा सहमति गर्ने भन्ने बारेमा कुनै तयारी गरेको नदेखिएको चिनियाँ पक्षको बुझाइ छ,’ जयसवालले बताए । 

यता, नेपालमा भारतीय पक्षको हुने भनिएको उच्चस्तरीय भ्रमण पनि तत्काल नहुने देखिएको छ । नेपालमा देखिएको भारतविरोधी गतिविधिले गर्दा राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्रीको हुने भनिएको छुट्टा छुट्टै भ्रमण तत्कालका लागि नहुने देखिएको स्रोतको दावी छ ।

नेपाल आफ्नो घरेलु विवादमा फँसेको कारण भारत र चीनले गर्ने भनिएको भ्रमण अचानक स्थगित हुनुलाई कुटनीतिक क्षेत्रमा राम्रो मानिँदैन । भारतले चीनसँग सम्बन्ध विस्तार गरेर सीलाई भारतको भ्रमण गराउन सफल भएको छ ।

भारतले मे २९ तारेखमा राष्ट्रपति सीलाई भ्रमणका लागि पत्र लेखेको थियो । सो पत्रको जवाफमा चीनले सहमति जनाएपछि भारतको तर्फबाट त्यसको तयारी शुरु भएको हो तर भारत भन्दा पहिला नेपालको तर्फबाट निमन्त्रणा गएको थियो ।

त्यसमा चीनको तर्फबाट अगस्त या सेप्टेम्बरमा भ्रमण गर्ने जवाफ पनि दिएको थियो । तर नेपालकै तर्फबाट तयारीमा चासो नदेखाएको कारण राष्ट्रपति सी भारत जाने भएका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया