गुलरिया नगरपालिकाको ४८ घण्टे सुचना 'हात्ति आयो हात्ति आयो फुस्सा'

७ बर्ष अगाडि

बर्दिया – गुलरिया नगरपालिकाले हुलाकी राजमार्ग गुलरिया–नेपालगञ्ज खण्ड र मुर्तिहा–गुलरिया–भुरिगाउँ सहायक राजमार्गमा पर्ने सडकको केन्द्र विन्दु देखि दायाँ बायाँ १२÷१२ मिटर भित्रका घर टहराहरु भत्काउन ४८ घण्टाको सुचना जारी गरेको १ दिन वितिसक्दा पनि कुनै कारबाही नथालिएकोले नगरबासीहरु छक्क परेका छन् ।

गत शुक्रबार विहान १० बजे देखि लागु हुने गरी ४८ घण्टाको म्याद दिई घर टहराहरु भत्काउन र सो नगरे कानुनी कारबाही गरिने भनि निर्देशनात्मक आदेश जारी भएको सुचना जारी गरिएको थियो । उक्त सुचना स्थानीय संचार माध्यम, सामाजिक संजाल र माईकिङ बाट पनि जानकारी गराईएको थियो । सुचना सुनिसके पछि दुई खालको धारणाहरु नगरबासीमा आएको थियो ।

नगरपालिकाले बर्षायामको समयमा यस्तो सुचना जारी गरेर घर धनिहरुलाई आतंकित गरेको भन्ने एउटा धारणा थियो भने मापदण्ड मिचेर घर बनाउने सुचना दिँदा पनि अटेर गर्ने लाई नगरपालिकाले ठिकै गर्न लाग्यो भन्ने अर्काे धारणा थियो । तर ४८ घण्टाको म्याद सकिएर १ दिन वितिसक्दा पनि नगरपालिकाले घर भत्काउने कुनै सुरसार नगरेकोले नगरपालिकाको उक्त सुचनालाई व्यङ्ग गर्न थालेका छन् ।

गुलरिया नगरपालिकाले यसरी फाल्गुन २६ गते पहिलो सुचना जारी गरेको थियो । उक्त सुचना जारी भएपछि उपल्लो बजारका अधिकांश घर पसलहरु भत्काएर १२ मिटर भित्र पुनः निर्माण भईरहेको छ । भने तल्लो बजार तर्फ घर भत्काउने कार्य सुरुवात नै भएन बरु सो बजारबासीहरुले उक्त सुचनाको विरुद्ध उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशमा क्षतिपुर्ति सहित निषेधाज्ञाको माग गर्दै रिट निवेदन दर्ता गरेका थिए । सो अदालत बाट पहिलो सुनुवाईमा निषेधाज्ञा जारी गरेपनि डिभिजन बेन्चबाट निषेधाज्ञालाई निरण्तरता दिईरहन नपर्ने आदेश जारी भएकाले नगरपालिका र हुलाकी सडक आयोजनालाई काम गर्ने बाटो खुला भएको थियो ।

यसै विच १२ मिटर को निर्णय गरि हुलाकी सडक को मापदण्ड विपरित भएको भन्दै १५/१५ मिटर ऐन अनुसार नै हुनु पर्ने माग गर्दै अर्काे रिट निवेदन सोही अदालतमा परेको थियो । अदालतले उक्त मुद्दाको सुनुवाईको क्रममा रिट निवेदकलाई अपुरणीय क्षति नहुने भएकाले निषेधाज्ञा जारी गर्न नपर्ने कानुन बमोजिम ठहर भए अनुसार गरिने आदेश जारी गरिएको थियो । दुवै मुद्दाको संयुक्त सुनुवाई असार २५ गते हुने भएको छ ।

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङले यो नगरपालिकाको कार्यक्षेत्र भएकाले नगरपालिकाले नै सबै कार्य गर्नु पर्ने बताउनु भयो । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले घर टहरा भत्काउनका लागि श्रावण १ गते देखि टेण्डर आह्वान को सुचना निकाल्ने कुरा बताउनु भयो ।

७ बर्ष अगाडि

प्रतिक्रिया