सिन्धुली – नेपाल पत्रकार महासंघ सिन्धुलीले सोमबार अध्यक्ष र पूर्वअध्यक्षमाथि आक्रमण गर्ने प्रहरीविरुद्ध किटानी जाहेरी दिएको छ । महासंघका तर्फबाट सचिव विदुर पौडेलले किटानी जाहेरी दिएका हुन् ।
पत्रकार महासंघको टोली नै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पुगी दोषीलाई कारबाहीको माग गर्दै ज्यान मार्ने उद्योगको अपराध भएको भन्दै कानुनी कारबाहीका लागि किटानी जाहेरी दिएका हुन् ।
जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी लोकदर्शन थापाले बुझे पनि १० नं डायरीमा प्रहरीले जाहेरी दर्ता गरेको छैन । पक्राउ परेका अभियुक्त प्रहरी हबल्दार सलामसिंह लामा र विकास स्याङतानलाई थुनामै राखिएको छ ।
तीन दिन कालोपट्टी
सिन्धुलीका पत्रकारले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् । नेपाल पत्रकार महासंघ सिन्धुलीको सोमबार बसेको बैठकले पत्रकार सुरक्षा र प्रहरीको कुटाइबाट घाइते भएका पत्रकारको न्यायको माग गर्दै सांकेतिक आन्दोलनस्वरुप तीन दिन कालोपट्टी बाँधेर कार्यस्थलमा काम गर्ने निर्णय गरेसँगै पत्रकारले कालोपट्टी बाँधेर काममा गरेका हुन् ।
महासंघले सोमबार, मंगलबार र बुधबार कालोपट्टी बाँध्ने निर्णय गरेको महासंघका सचिव विदुर पौडेलले बताए ।
प्रतिक्रिया