काठमाडौं उपत्यका भित्रै हरायो १५० रोपनी सरकारी जग्गा,मालपोतका कर्मचारीलाई पाता कस्ने तयारी

७ बर्ष अगाडि

काठमाडौं – काठमाडौं उपत्यका भित्रैका १५० रोपनी जग्गा बैंक, फायनान्सस कम्पनी र व्यक्तिको नाममा राखेको पाइएको छ ।

मालपोत कार्यालय डिल्लीबजारको अभिलेखमा सरकारी वा सार्वजनिक भनेर उल्लेख भएका ती जग्गा अनाधिकृत रुपमा व्यक्ति वा संस्थाको नाममा राखिएको पाइएको हो ।

ती जग्गा बैंक, फाइनान्स तथा व्यक्तिको नाममा राखेको भेटिएको हो ।

मालपोतले २०६४ सालमा संकलन गरेको विवरणमा रोड शो रियलस्टेटको नाममा  २२ रोपनी, एसओएस बालग्राम र रसियन फेडेरेसनको नाममा १३÷१३ रोपनी, नमस्ते कार्पेट र सुइटी होटलको नाममा ६÷६ रोपनी सार्वजनिक जग्गा राखिएको पाइएको छ ।

यस्तै स्याकार कम्पनीको नाममा  ५ रोपनी, माइती नेपाल र मारवाडी सेवा समाजको नाममा देखाइएको २÷२ रोपनी जग्गा पनि सार्वजनिक हो । मालपोतमा सार्वजनिक जग्गामा अभिलिखित १८ रोपनी जग्गा नारायण देवी नामक व्यक्तिको बनाइएको पाइएको छ ।

अभिलेखमा सरकारी वा सार्वजनिक भए पनि काठमाडौंका विभिन्न स्थानको मूल्यवान डेढ सय रोपनी जग्गामा ४ दर्जन कम्पनी, संस्था र व्यक्तिको नाममा कायम गर्ने मालपोतका कर्मचारीको नियतमाथि नै प्रश्न उठाएको छ ।

महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणका क्रममा मालपोतका कर्मचारीको बदमासी फेला पारेपछि यसबारे भूमि व्यवस्था विभाग र मन्त्रालयका अधिकारी चुपचाप बसेका छन् ।

सरकारी अभिलेखमा सार्वजनिक भनेर उल्लेख जग्गा व्यक्ति र संस्थाको नाममा किन राखियो भनेर सोधेको प्रश्नमा जिम्मेवार निकायका कुनै अधिकारीले जवाफ दिन मानेका छैनन् । यसबाट माथिसम्मैको मिलेमता गरिएको पुस्टि भएको छ ।

सरकारले तत्काल नै मालपोत कार्यालयका  कर्मचारीको यो बदमासीलाई छानबिनको दायरामा ल्याई कारवाही गर्नुपर्ने देखिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया