काठमाडौँ – सरकारले तरकारी र कृषिजन्य उत्पादनको विषादी परिक्षण गर्ने निर्णय फिर्ता लिएको भन्दै नेपाल कृषि सहकारी केन्द्रीय संघ ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारले सिमा क्षेत्रबाट भित्रने तरकारी र कृषिजन्य उत्पादनको विषदी परिक्षण गर्ने निर्णय फिर्ता लिएपछी संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दे ध्यानाकर्षण भएको जनाएको हो ।
संघले अहिले भएका परिक्षण केन्द्रको प्रभावकारी सञ्चालन र अन्य मुख्य—मुख्य बजारहरुमा भित्रने तरकारी तथा फलफुललाई परिक्षण गर्ने व्यवस्था मिलाउन जोडदार माग गरेको छ ।
यस्तो छ विज्ञप्ति
सरकारले सिमा क्षेत्रबाट भित्रने तरकारी र कृषिजन्य उत्पादनको विषदी परिक्षण गर्ने निर्णय फिर्ता लिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस निर्णयले नेपाली उपभोक्ता गुणस्तरीय र ताजा कृषि सामग्री उपभोग गर्नबाट बञ्चित हुने देखिएको छ ।
नेपाली उत्पादन विदेश पठाउँदा होस अथवा अन्य मुलुकबाट नेपाल ल्याउँदा यसको गुणस्तरीयता, विषादीको मात्रा लगाएतका बारेमा चेकजाँच गर्नु अपरिहार्य कुरा हो । सरकारले सिमा क्षेत्रमा विषादी परिक्षण केन्द्र स्थापनाका लागि जतिसक्दो छिटो पहल गर्नुपर्ने माग सहति तत्कालका लागि विषादी परिक्षण सम्भव भएका स्थानमा परिक्षण सुरु गर्न हाम्रो अनुरोध छ ।
अहिले बजारमा विक्रिवितरण भईरहेका कृषिवस्तुहरुको उत्पादकका बारेमा जानकारी नहुँदा विषादी सहितको कृषि सामग्री विक्रिवितरण हुँदा पनि कार्वाहीको व्यवस्था गर्न सकिएको छैन ।
उत्पादक र वितरकको पहिचान हुने गरी कृषि सहकारी संघ संस्थाहरुले सञ्चालन गर्ने बजारका विक्रेता पनि किसानहरुनै हुने भएका कारण कुनै कमि कमजोरी भए सुधारका लागि जिम्मेवार बनाउन सकिन्छ ।
हामीले साना किसान र कृषकहरुको आफ्नै बजारको व्यवस्था गर्नुपर्ने माग पटक–पटक गर्दा पनि सरकारले यसतर्फ कुनै चासो नदिएका कारण नेपाली उपभोक्ताहरु गुणस्तरीय कृषि सामग्री उपभोग गर्नबाट बञ्चित भईरहेको सर्वविधितै छ ।
सरकारले विषादीको परिक्षणका लागि तत्काल तयारी नपुगेको बताईरहँदा यसका विकल्पहरु पनि रहेको हामी स्मरण गराउन चाहन्छौ ।
कालिमाटी तरकारी तथा फलफुल बजारमा सुरुभएको विषादी परिक्षण केन्द्र प्रभावकारी रुपमा चल्न सकेको छैन । अहिले भएका परिक्षण केन्द्रको प्रभावकारी सञ्चालन र अन्य मुख्य—मुख्य बजारहरुमा भित्रने तरकारी तथा फलफुललाई परिक्षण गर्ने व्यवस्था मिलाउन हामी नेपाल सरकारसंग माग गर्दछौ ।
तरकारी वा फलफुल उत्पादकबाट सोझै उपभोक्तासम्म नजाने भएका कारण यसको भण्डार गर्ने वा ठूलो बजार र विक्रिकेन्द्रमा विषदी परिक्षण केन्द्र राख्न सकियो भने विषादी रहित कृषि सामग्री विक्रिवितरणका लागि सहयोग पुग्ने देखिन्छ ।
उपभोक्ताको घरसम्म पुग्ने हरेक कृषि उत्पादनलाई स्वस्थ, ताजा र गुणस्तरीय बनाउन नेपाल कृषि सहकारी केन्द्रीय संघ लिं. र यस मातहतका १ हजार साना किसान सहितका कृषि सहकारी संस्था अनि यसका १० लाख सदस्य किसान सदैव सचेत रहेको याँहाहरुलाई जानकारी गराउन चाहन्छौ ।
खेम बहादुर पाठक
अध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिं.
बखुण्डोल ललितपुर
प्रतिक्रिया