काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारी गरिरहेको बताएका छन् ।
बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले विकास, निर्माणका काममा हुने ढिलाईलाई रोक्न सरकार आफैले निर्माण कम्पनी स्थापना गर्ने तयारी गर्नु परेको बताए । उनले एक हप्ता भित्र उक्त विषयमा ठोस निर्णय लिने समितिलाई जानकारी गराए । सरकारले आफ्नै निर्माण कम्पनी बनाए पनि निजी क्षेत्रको कम्पनीलाई प्रोत्साहन गरेर अघि बढने उनले बताए ।
आफूले निर्माण गरेका सडकलगायतका पूर्वाधारको मर्मत सम्हारको जिम्मेवारी पाँच वर्षसम्म सम्बन्धित निर्माण कम्पनीहरुलाई दिने नीतिगत निर्णय लिइएकोउनले बताए ।
काठमाडौंमा विद्युतीय सवारी साधन संचालनका लागि कुनै पनि बेला रुट परमिट दिन सरकार तयार रहेको बताउँदै उनले काठमाडौंलाई प्रदुषणमुक्त बनाउन पनि विद्युतीय सवारी साधन संचालन गर्न उपयुक्त हुने बताए । विद्युतीय बस संचालनका लागि आउनेहरुलाई तत्काल उनीहरुले मागे अनुसारको रुटमा परमिट दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिएको उनले बताए ।
बैठकमा समितिका सदस्यहरुले काठमाडौंको सडकको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री महासेठको चर्को आलोचना गरेका थिए ।
प्रतिक्रिया