प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सडकमा नमुना सोलिङ

७ बर्ष अगाडि

दोलखा – प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दोलखाको शैलुङ गाउँपालिका १ मा छनोटमा परेका युवाले सडकमा नमुना सोलिङ गरेका छन् ।

गाउँपालिकाले  आह्वान गरेको सूचनाअनुसार आवेदन दिएका बेरोजगार युवाले वडा कार्यालयमार्फत आफ्नै गाउँको सडकमा नमुना सोलिङ गरेका हुन् ।  उनीहरूले वडा कार्यालयदेखि गाउँपालिका जोड्ने सडकखण्डको दूधपोखरीस्थित काटडोङ क्षेत्रमा १ सय ४३ मिटर सडकमा व्यवस्थित सोलिङ बनाएका छन् ।

वडा कार्यालयले जारी गरेको सूचनाअनुसार दूधपोखरी गाउँका ४४ जना युवाले रोजगार पाउँ भनी आवेदन दिएका थिए । ९ जना महिला र ३५ जना पुरुषले दिएको आवेदनमध्ये १८ जनाले पूर्वाधार विकासको काम गर्ने इच्छा जाहेर गरेका थिए भने बाँकीले कृषि र जीविकोपार्जन रोजेका थिए ।

शैलुङ गाउँपालिका १ का वडाध्यक्ष बिर्खबहादुर तामाङले पूर्वाधार विकासको शीर्षक रोजेका युवालाई गाउँनजिकैको सडकमा सोलिङ गर्न लगाइएको बताए नयापत्रिकामा खबर छ । उनका अनुसार गाउँपालिकाले सबै वडामा सडक सोलिङको कामलाई अघि बढाउने जानकारी गराएसँगै उनीहरूलाई उक्त काम लगाइएको हो । अध्यक्ष तामाङले बाँकी आवेदकलाई अन्य कार्यक्रममार्फत सम्बोधन गरिने बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया