कांग्रेस र नेकपा डबल नामका पार्टीबाट देशले अग्रगमन हाँसिल गर्न सक्दैन : बाबुराम भट्टराई

७ बर्ष अगाडि

काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट देशले अग्रगमन हाँसिल गर्न नसक्ने बताएका छन् । 

सोमबार तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालको गण्डकी प्रदेश समिति समायोजन घोषणा कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् । ‘पुराना थोत्रा भई सकेका कांग्रेस र नेकपा डबल नामका पार्टीबाट देशले अग्रगमन हाँसिल गर्न सक्दैन,’ उनले भने, ‘यो देशका नयाँ समस्या, नयाँ करिकुलम सुशासन कायम गर्नेदेखि देशलाई दिगो विकासको दिशातर्फ अघि लैजानको लागि पुराना पार्टीको काम छैन भनेर नै हामीले समाजवादी पार्टी गठन गरेका हौं ।’ आफूहरुको पार्टी एकता एकताबद्ध मात्र नभई रुपान्तरण सहितको एकता भएको उनले दाबी गरे ।  

लोकतन्त्र, प्रगति, अग्रगमन, समाजवाद, संघीयता, समावेशिता, धर्मनिरपेक्षता लगायतका मान्यतामा प्रतिबद्ध सम्पूर्ण जनतालाई सङ्गठित गरेर देशलाई आगामी ५० वर्षमा नेतृत्व गरिे  विश्व सामु नेपाललाई समुन्नत संघीय समाजवादी दिशामा लिएर जान सक्ने शक्तिको आवश्यकता रहेको उनले औंँल्याए ।

‘त्यसलाई अघि बढाउनका लागि हाम्रो एकताको प्रस्थान बिन्दु मात्र हो,’ उनले भने, ‘यो सुरुआत मात्र हो, अन्त्य होइन । आगामी दिनमा विचार मिल्ने शक्तिसँग पनि हाम्रो एकिकरण हुँदै जान्छ ।’ कांग्रेस र नेकपाभित्र पिल्सिएर रहेका उत्पिडित समुदाय र वर्गलाई समेत समावेश गरी देशको प्रमुख शक्तिको रुपमा स्थापित गर्ने आफूँहरुको लक्ष रहेको उनले बताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया