काठमाडौं – मुलुकभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेका छन् । त्यसमध्ये चार लाख ६२ हजार ६०५ प्रतिष्ठान दर्ता भएका, चार लाख ६० हजार ४२२ दर्ता नभएका र दर्ता स्थिति नखुलेका ३२९ प्रतिष्ठान रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले उक्त विवरण सार्वजनिक गरेको हो ।
प्रतिष्ठानमा सक्रिय रूपमा संलग्न जनशक्ति ३२ लाख २८ हजार ४५७ रहेका छन । त्यसमध्ये पुरुष ६२.३ प्रतिशत र महिला ३७.७ प्रतिशत रहेको विभागले जनाएको छ ।
आर्थिक तथ्यांकको आधारको रूपमा विभिन्न प्रकारका उद्योग, व्यवसाय, संघ संस्था आदि जस्ता प्रतिष्ठान को गत २०७५ वैशाख १ गते देखि जेठ ३१ गतेसम्म तथ्यांक संकलन गरेको गरेको थियो ।
विभागले देशका ७७ जिल्लामा नै आर्थिक गणना कार्यालय स्थापना गरी आर्थिक गणना तथ्यांक संकलन कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गरेको थियो ।
देशमा आर्थिक तथ्यांकको आधार खडा गर्नु यस गणनाको मुलभूत लक्ष्य रहेको हो भने केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारलाई योजना तर्जुमा र नीति निर्माण गर्न आधारभूत आर्थिक तथ्याङ्क उपलब्ध गराउनु गणनाको मुख्य उद्देश्य हो ।
सबैभन्दा बढी चार लाख ९८ हजार ६९ वटा थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रका प्रतिष्ठान रहेका छन् भने सबैभन्दा कम घरजग्गा कारोवार क्षेत्रका २०७ प्रतिष्ठान रहेको विभागले जानकारी दिएको छ ।
त्यस्तै सबैभन्दा बढी जनशक्ति पनि थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रका प्रतिष्ठानमा नौ लाख ८८ हजार ३४६ सक्रिय रुपमा संलग्न छन् भने सबैभन्दा कम घरजग्गा कारोवार क्षेत्रमा प्रतिष्ठानमा एक हजार ९७७ जनशक्ति संलग्न छन् । प्रदेशअनुसार सबैभन्दा बढी प्रतिष्ठान प्रदेश नं ३ मा दुई लाख ८२ हजार ९२० छन भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४२ हजार ८०७ प्रतिष्ठान छन् ।
प्रतिक्रिया