मतपत्र च्यात्नेलाई गरियो १–१ लाख जरिवाना

७ बर्ष अगाडि

चितवन–स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मत गणनाको क्रममा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई रु एक÷एक लाख जरिवाना गरिएको छ ।

जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई जरिवान सजाय तोकेको हो । अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने मुख्य अभियुक्तलाई सो सजाय सुनाएको हो । अदालतले गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरिएकामा आज सजाय सुनाएको हो ।

    तत्कालीन समयमा महानगरको निर्वाचनमा प्रमुख पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा दाहाल पक्षका मत गणनामा सलंग्न उनीहरुले मतपत्र च्यातेका जनाइएको थियो । महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा विसं २०७४ जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएका थिए । 

    मतपत्र च्यातिएपछि भरतपुर–१९ मा पुनः साउन २० गते  मतदान भएको थियो । सो निर्वाचनमा काङ्ग्रेस र तत्कालीन माओवादी केन्द्र गठबन्धनका उम्मेदवार दाहालले तत्कालीन एमाले उम्मेदवार ज्ञवालीलाई २०३ मतले हराएर प्रमुखमा निर्वाचित हुनुभएको थियो । मतगणनाका क्रममा मतपत्र च्यात्ने शिवाकोटी र न्यौपानेलाई तत्कालीन समयमा रु एक÷एक लाख धरौटीमा अदालतले रिहा गरेको थियो ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया