प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंपछि सरकारको आलोचना गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरेका छन् । स्व. नेता मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘सरकारले अहिलेसम्म नीति निर्माणमा मात्रै समय खर्च गर्नुपर्यो । अब सरकारले जनताले देख्नेगरी काम गर्छ । दसैंपछि कसैले सरकारको आलोचना गर्नु नपर्ने अवस्था बन्छ ।’
ओलीले आफ्नो सरकार आएपछि आधा जनसङ्ख्याले मास्क लगाउन छाडेको दाबी पनि गरे । ‘काठमाडौं उपत्यकालाई हराभर बनाउने अभियान चलिरहेको छ,’ उनले भने, ‘तपाईंहरुले पनि महशुस गर्नुभएको होला, अहिले आधा जनसंख्याले मास्क नै लगाउन छाडेको छ ।’
उनले पार्टी एकीकरणको प्रक्रिया पनि असारभित्रमै सकिने बताए । पछिल्लो समय पार्टी एकताको विषयमा केही अलमल भएको स्विकार गर्दै नेकपा अध्यक्ष ओलीले अबको दुई सताभित्र एकताका बाँकी प्रक्रियालाई टुङ्गो लगाउने प्रतिबद्धता जनाए ।
पार्टीमा कुनै खालको सैद्धान्तिक विमति नरहेको उनको भनाइ छ । पार्टीको सिद्धान्त ‘जनताको जनवाद’ भए पनि विशेषता भने ‘जबज’ कै रहेको ओलीले बताए ।
प्रतिक्रिया