छिमेकसँग कुनै खालको तनाव नहोस् भन्ने चाहन्छौं:  ओली

७ बर्ष अगाडि

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक कुटनीतिसँगै आर्थिक कुटनीतिको आवश्यकता रहेको बताएका छन् । उनले आवश्यकता भन्दा बढी कुटनीतिक क्रियाकलाप छिमेकी वा अरु कोहीबाट नहोस् भन्ने सरकारको चाहना रहेको पनि बताएका छन् । 

शनिबार राजधानीमा परराष्ट्र नीति संवाद विषयक कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय अस्तित्वलाई जोगाउाने कुरामा पूर्वजहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै भने, ‘पूर्वजहरुलाई यतिबेला सम्मानपूर्वक स्मरण गर्न चाहन्छु । किनभने उहाँहरुको राष्ट्रिय अस्तित्व  र स्वाधीनतालाई बचाउने कुरामा महत्वपूर्ण योगदान रह्यो ।’

सन्तुलित परराष्ट्र नीतिमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सन्तुलित परराष्ट्र नीति र भौगोलिक अवस्था सबैले ख्याल गर्नुपर्छ । हामी छिमेकमा पनि कुनै खालको तनाव नहोस् भन्ने चाहन्छौं । तनावको अवस्था आइहाले उचित ढंगबाट संवादमार्फत तनाव साम्य होस् ।’

नेपाल अब पनि गरीब भइरहन नसक्ने भन्न्दै ओलीले १८ प्रतिशत गरीबहरु केही वर्षमै धनीमा परिणत हुने बताए । सुखी नेपाली समृद्ध नेपालको नारालाई मूतरुप दिन सरकार सबै संघसंस्था र सरोकारवालासँग छलफल र सहकार्य गर्न तयार रहेको बताए । 

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राजनीतिक परिवर्तनले परराष्ट्र नीतिलाई प्रभाव पार्ने भन्दै अहिले राजनीतिक मुद्दा धेरै सम्बोधन भएको बताए । 

अतिवाद र आतंकवाद नेपालको चुनौति रहेको उल्लेख गर्दै ज्ञवालीले अहिले समयसापेक्ष परराष्ट्र नीतिको आवश्यकता भएको बताए । 

देशको बाह्य सम्बन्धमा समायानुकूल विकास र परिवर्तन गर्न नेपालले चाहेको पनि सो अवसरमा ज्ञवालीले बताए । 

यस्तै विगतमा भएका सन्धीमा पुनरावलोकन गर्दै समयानुकुल सार्वभौम सन्धीको चाहना भएको उल्लेख गर्दै ज्ञवालीले सार्वभौम र स्वतन्त्र परराष्ट्र नीतिमा जोड दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया