किताबमा कर हास्यास्दप, बरु घडेरीमा १ हजार प्रतिशत कर लगाउनुहोस् : काठमाडौँ – समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेटमार्फत् सरकारले पुस्तकमा लगाएको १० प्रतिशत करको विरोध गरेका छन् ।
शुक्रबार संसदको बैठकमा बोल्दै डा. भट्टराईले ज्ञानको स्रोत पुस्तकमाथि १० प्रतिशत कर लगाउने निर्णयलाई हास्यास्पद बताएका हुन् । ‘प्रिन्टिङ प्रेसहरुलाई प्रवर्द्धन गर्ने हो भने त्यहाँ सुविधा दिउँ, तर पुस्तकमा कर लगाउने कुरा हास्यास्पद छ ।’
उनले सरकारले कर नै लगाउने हो भने अनुत्पादन क्षेत्रको रुपमा रहेको शहरका घडेरीहरुमा एक हजार प्रतिशत कर लगाउन सुझाव दिए । ‘शहरमा भइरहेको घडेरी कारोबार र सुनजस्ता अनुपात्दक क्षेत्रमा कर लगाउनु पर्छ,’ उनले भने ।
उनले कर्मचारी प्रशासनमा संरचनागत परिवर्तनको आवश्यकता औंल्याए । यसैसाता माइतीघर मण्डलामा सरकारले ल्याएको गुठी विधेयकको विरुद्धमा भएको प्रदर्शन स्मरण गर्दै डा. भट्टराईले सत्तारुढ पार्टीप्रति व्यंग्य गरे । ‘नेपालीमा उखान छ, ज्वाईं न स्वाईं, अगुल्टाले च्वाईं, मैले पनि नेवारको छोरीसँग विवाह गरेको छु, हाम्रा ससुराल खलकले सांकेतिक तर शक्तिशाली प्रदर्शन गरे, यसबाट ज्वाईं प्रधानमन्त्री, ज्वाईं उपप्रधानमन्त्री, मन्त्रीहरु सचेत हुनुहोला,’ उनले भने ।
उनले सत्तारुढ दललाई फलेको हाँगो निहुरनुपर्ने उदाहरण दिँदै जनताको कुरा सुन्न आग्रह गरे ।’मतादेश दिगो नहुन सक्छ, यो फेरिन पनि सक्छ, जनताले पुनः अवसर नदिन सक्छन्,’ उनले भने, ‘ज्ञान बोल्छ, बुद्धि सुन्छ भनेजस्तै यहाँहरुलाई पनि जनताको कुरा सुन्न आह्वान गर्दछु ।’
पूर्वअर्धमन्त्री समेत रहेका डा। भट्टराईले आर्थिक वृद्धिदर सन्तोषजनक नभएको बताए । सात प्रतिशतको आर्थिक वृद्धि केही वर्षदेखि पानी परेर कृषि उपजको उत्पादन बढेको र भूकम्पपछिको पुनर्निर्माणले पनि वृद्धिलाई टेवा दिएकोले यसलाई सन्तोषजनक मान्न नहुने धारणा अगाडि सारे ।
उनले भने, ‘इन्द्र भगवानको कृपाले केही वर्षदेखि पानी परेर कृषि उपजको उत्पादन बढेको छ, भूकम्पपछिको पुनर्निर्माणले पनि केही वृद्धि देखिएको हो। दोहोरो आर्थिक वृद्धि नभएसम्म सन्तोषजनक मान्नु हुन्न ।’
उनले पुँजीवादी चरणलाई नाघेर अहिल्यै समाजवादमा जान सक्ने अवस्था नरहेको धारणा राखे । ‘वृद्धिमा जोड दिने र वितरणमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘आर्थिक वृद्धि दुई अंकको हुनुपर्छ। न्यायपूर्ण ढंगको वितरण दीगो ढंगले गरे मात्रै मान्छेमा खुसीपन आउँछ यो विकासको आयाम हो।’
प्रदेशहरूमा बजेट समान ढंगले नपठाइएको र केन्द्रले दिने अनुदान र राजश्वको बाँडफाँट न्यायपूर्ण नभएको उनले बताए। ‘संघीयताको मर्म हामीले बुझैनौं,’ भट्टराईले भने । बजेट कार्यान्वयनमा समस्या आउनु संघीयताप्रतिको गलत बुझाइ भएको उनले बताए ।
नेता भट्टराईले वर्तमान अर्थमन्त्रीले डराएर बजेट ल्याएको बताए । उनले भने, ‘अर्थमन्त्री डराएको जस्तो लाग्यो । यता जाउँ कि, उता जाउँ भन्ने रूपमा बजेट प्रस्तुत गरेजस्तो लाग्यो ।’
‘वर्तमान बजेट संक्रमणकालिन अवस्थाको जस्तो आउन नहुने थियो तर अहिले पनि त्यस्तै पाराको बजेट आयो,’ उनले भने, ‘विगतको भन्दा पछाडि हटेर बजेट आएको जस्तो लाग्यो ।’
बजेटको संरचनामा कुनै पनि परिवर्तन नआएको उनको भनाइ थियो । उनले भने, ‘संरचनामा कुनै परिवर्तन आएन। त्यसमा कुनै खुसी रहनुपर्ने अवस्था छैन ।’
प्रतिक्रिया