काठमाडौँ – सरकार विरुद्ध जनमत बनाउने लक्ष्यका साथ देशव्यापी जागरण अभियान लिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस आफ्नै घर झगडामा रुमल्लिएको छ ।
एउटा गुटले अर्को गुटको खुट्टा तान्ने, एउटाको अर्कोको कुरा काट्ने तथा एकले अर्कोलाई खुइल्याउने अभियानमा लागेका छन् । जागरण अभियान नाम दिइएको काँग्रेसको कार्यक्रम गुटको विस्तार र गुटगत मानसिकतालाई अझ प्रश्रय दिन केन्द्रीत छ ।
संस्थापन पक्षका नेताहरुले रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षका कोही कसैलाई पनि ढिम्कन नै नदिने प्रवृत्ति देखिएको छ । उनीहरु रामचन्द्र र सिटौलाले काँग्रेस सिध्याए भन्दै यिनीहरुलाई तह लगाउनुपर्ने जस्ता तर्क गर्दै सार्वजनिक रुपमा नै आरोप प्रत्यारोपमा उत्रने गरेका छन् । विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको समयमा भोगेको पेलाई बिर्सेर काँग्रेस सभापति शेरबहादुर देउवाले फरक मत राख्ने सबैलाई ठेगान नै लगाएर छाड्ने मानसिकताका साथ काम गरिरहेको पाइएको छ ।
जिल्लागत जागरण अभियानमा फरक विचारलाई सम्मान गर्नुको साटो वरपर नै पर्न नदिने तथा कुनै पनि सक्रिय सहभागिताका लागि समेत संलग्न नै हुन नदिने अवस्था समेत पैदा भएको छ ।
गुटगत राजनीति प्रचार तथा त्यसैलाई प्रश्रय दिन केन्द्रीत भएको देखिन्छ । काँग्रेस आफूलाई लोकतन्त्रवादी पार्टी भएको जिकिर मात्रै गर्दैन प्रजातन्त्रको प्रयाय नै आफू भएको काइते तर्क समेत गर्दछ । जुन पार्टीमा आन्तरिक प्रजातन्त्र छैन, जुन पार्टीमा फरक विचारको सम्मान हुँदैन, तयो पार्टीमा विचार, सिद्धान्त, दर्शन र लोकत्न्त्रको कुरा गर्नु पनि बेकार छ ।
काँग्रेसको जागरण अभियानमा खटिएका सभापति देउवा पक्षका डा प्रकाशशरण महतले रामचन्द्र र सिटौलालाई तह नलगाउँदासम्म काँग्रेसमा नयाँ जागरण आउनै नसक्ने भन्ने तर्क गरे । उनले काँग्रेसका धमिरा भनेकै सिटौला र पौडेल भएकाले उनीहरुलाई भने र मागे अनुसारको व्यवहार गर्न नसकिने समेत बताए । उनले त्यसो भनिरहँदा उपसभापति समेत काँग्रेस नेता विमलेन्द्र निधिले समेत पार्टी भित्र खोइरो लागेको र त्यसको शिघ्र निदान नभए काँग्रेस काँग्रेस जस्तो नहुने भन्दै फरक विचार र राजनीतिको गला रेट्ने नै धम्की दिए । उनले अनावश्यक रुपमा फरक मतको नाममा अराजकतालाई संरक्षण गरेकाले सभापतिलाई नै अधिकार सम्पन्न गराउनुपर्ने धारणा राखे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति केन्द्रिकरण गरी अधिनायकवादी भएको बताउने काँग्रेसको उपसभापतिले प्रधानमन्त्रीलाई लगाएको आरोप विपरित सभापतिलाई नैै शक्तिशाली बनाउनुपर्ने भन्ने जस्तो गैरलोकतान्त्रिक चरित्र र पद्दतिको किन चर्चा गरे भन्ने पनि आम चासोको विषय बनेको छ । निधिले लोकतन्त्रको नाममा लोकतान्त्रिक पार्टी भित्र बसेर पार्टी नै सिध्याउने खेलमा लाग्नेलाई समेत कारवाहीको दायरामा ल्याउने दावी गरे ।
देउवा पक्षले त यतिसम्म गरेको छ कि पौडेल र सिटौला पक्षमा रहेका भनिएका पूराना काँग्रेसी नेतालाई समेत अपमान नै गरेका छन् । उनीहरुलाई सार्वजनिक रुपमा सम्मान गर्ने सामान्य शिष्टाचारलाई समेत भूलेका छन् । यस्तै सार्वजनिक खपतका लागि सरकारको विरोध गर्ने तथा अधिनायकवादी भएको आरोप लगाउने भन्दा काँग्रेसको जागरण अभियानले कुनै माखो मार्न सकेको छैन ।
भारतमा भारतीय जनता पार्टीको विकल्प नदेखिए जस्तै नेपालको हकमा पनि सत्तारुढ दलको विकल्प करिब नदेखिएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । किनकी काँग्रेसमा सुधारको कुनै गुन्जायस नै छैन ।
त्यति मात्रै होइन मुलुकलाई बोक्ने र आफु मात्रै नेता भएको गफ दिने गगन थापा र काँग्रेस प्रवक्ता व्श्विप्रकाश शर्माको दाउपेच पनि कम्ता रोचक देखिएको छैन । तँ भन्दा के कम शैलीमा गगनले शर्मालाई देखाइदिने भन्दै धम्की दिएका छन् । यस्तै विश्वप्रकाशले पनि शक्ति केन्द्रको उचलाइमा उचालिने प्रवृत्तिले काम नगर्ने भन्दै गगनको सातो बोलाएका छन् । त्यसो त गगन थापा शक्ति केन्द्रको उचालाईमा उचालिने र उनीहरुको स्वार्थ अनुसार हिड्ने पात्र हुन् । आफ्नो निर्वाचन क्षेत्रमा सामान्य भन्दा सामान्य काम समेत गराउन सक्ने क्षमता नभएका थापालाई केही सञ्चार माध्यम र केही कथित बौद्धिक समुदायले उचालेका भरमा उनी नेता कहिलएको उनको आलोचकहरु बताउँछन् ।
काँग्रेसीहरुले आर्दश ठानेकाहरु नै एक आपसमा भिड्न थालेपति कसलाई के चाहियो र आलोचना गर्न भने जस्तै भएको छ । त्यसो त प्रदीप पौडेलहरु विश्वप्रकाशलाई खुइल्याउन लागेका छन् । राजनीतिकको नाममा जागरण अभियान लिएर जनता र कार्यकर्ता माझ गएको भनिएको काँग्रेस एक आपसमा नै भिडेर यदुवंशी सस्कार पनि देखाइरहेका छन् ।
उनीहरुले भन्दै आएको लोकतन्त्र र प्रजातन्त्रको मूल्य र मान्यता विपरित रहेको छ । जनतालाई एकत्रित गर्न र संविधान कार्यान्वयन गराउने संकल्पलाई छाडेर काँग्रेसले जुन खालको अलोकतान्त्रिक व्यवहार देखाएको छ त्यसले पक्कै पनि उसको हित त गर्दैन, त्यो भन्दा बढी देश र जनताको समेत हित गर्न सक्दैन । काँग्रेसले आजसम्म पनि बुझ्न नसकेको यर्थाथता भनेको उसले जुन खालको चरित्र नेपाली राजनीतिमा देखाएको छ त्यसले सामान्यतया भन्दै आएका सिद्धान्त र व्यवहारलाई पनि प्रतिनिधित्व गर्न सक्दैन ।
त्यसो त काँग्रेसको जागरण अभियान नाम दिइएको गुट भेलामा पौडेल र सिटौला पक्षको भने सहभागिता कम रहेको छ । उनीहरुले देउवालाई देखाइदिने र आगामी महाधिवेशनमा खास हैसियत पत्ता लाग्ने भन्दै आन्तरिक तयारी गरेका छन् । त्यसमा शेखर कोइरालाहरुले पनि साथ दिएका छन् ।
कोइराला खान्दानको साख राख्ने भन्दै उनीहरुले कित शेखर, कित संशाक मध्ये एकलाई अगाडि सार्ने तयारी गरेका छन् । त्यसो हुँदा १७ पटक प्रधानमन्त्रीमा हारेका रामचन्द्र पौडेलहरु सिधै फेज आउट हुने अवस्थामा पुग्ने छन् । त्यसबाट अन्ततः फाइदा देउवा गुटलाई नै हुने देखिन्छ ।
प्रतिक्रिया