'ऐन' जारी भएको १२ वर्ष वितिसक्दापनि कार्यान्वयन भएन - काठमाडौँ – पशु अधिकारकर्मीहरुले 'पशु ढुवानी सम्बन्धी मापदण्ड ऐन' जारी भएको १२ वर्ष वितिसक्दापनि कार्यान्वयन नभएको भन्दै गुनासो गरेका छन् ।
आज राजधानीमा आयोजीत एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकारकर्मीहरुले पशु कल्याण सम्बन्धमा बनेका ऐन तथा नियमहरुको प्रभावकारी कार्यान्वयन गर्न माग गरेका छन् ।
आयोजीत अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पशुकल्याण संघ तथा स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले पशु ढुवानी सम्बन्धी ऐन ०६४ सालमै जारी भएतापनि अझै लागु नभएको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाले सो ऐन लागु भएपनि कार्यान्वयन नभएको भन्दै लज्जाको विषय भएको बताउनु भयो ।
उहाँले भन्नु भयो पशु ढुवानी सम्बन्धी मापदण्ड बनेको १२ बर्ष वितिसक्दा पनि पशुहरुलाई जथाभावी कोचेर, नाकमा रसी लगाएर तथा पुच्छर बाँधेर ट्रकमा कोचेर ल्याउने कार्य नरोकिनुले नेपालमा पुश कल्याण र पशु अधिकारको यथार्थता प्रष्ट हुन्छ । पहिले आफु व्यक्ति सच्चिनुपर्छ अनि मात्रै पशु अधिकार तथा पशुकल्याण भनेको के हो भन्ने बुझ्न सकिन्छ, ऐन नियमको प्रभावकारी कार्यन्वयन हुन सक्छ उहाँले भन्नुभयो, ।
त्यसैगरी सो कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्व सचिव कृष्णचन्द्र पौडेलले नेपाल सरकारले पशुकल्याण सम्बन्धमा बनेका प्रावधानहरुलाई प्राथमिकता दिन नसकेको र पशु कल्याण सम्बन्धी शिक्षा र जनचेतनको पनि अभाव रहेको उहाँको भनाई थियो । पौडेलले भन्नुभयो‘ कसैले कुकुरलाई कुटेर मा¥यो भने कहाँ उजुरी गर्ने ? कसलाई उजुरी गर्ने ? के कारवाही हुन्छ ? भन्ने जानकारी नै छैन, यस्तो अवस्थामा कसरी पशुको कल्याण गर्न सकिन्छ ।
कार्यक्रममा अधिवक्ता पदम बहादुर श्रेष्ठले नेपालमा पशु कल्याणका सन्दर्भमा भएका कानूनी प्रावधानहरुको चर्चा गर्दै सर्वोच्च अदालतबाट ऐन नियम बनाउन निर्देशन आउँदा समेत सरकारले चासो नदिएको गुनासो गर्नुभयो ।
कार्यक्रममा पशु क्वारेन्टाइन कार्यलयका प्रमुख श्रीराम न्यौपानेले सीमित जनशक्तिका बाबजुत पनि पशु कल्याणको लागी काम गरिरहेको बताउनुभयो । व्यक्तिको मानसिकतमा परिवर्तन नभएसम्म पशुको अधिकारका लागी जतीनै पहल गरे पनि न्युनिकरण गर्न नसकिने उहाँको भनाई थियो ।
त्यसैगरी स्नेहाज केयरका प्रबन्ध निर्देशक कपिल काफ्लेले पशु क्वारेन्टाइन तथा पशु ढुवानीमा रहेका त्रुटी सच्याउन सके पशुको कल्याणमा भएका समस्या न्युनीकरण गर्न सकिने धारण राख्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका एसएसपी भीम ढकालले प्रहरी प्रशासनले पशुपक्षीको अबैध निकासी नियन्त्रण गर्न तथा पशु अधिकारको रक्षा गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया