पशुपति क्षेत्रमै चर्च ! धार्मिक सहिष्णुतामा राइँदलो

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल सहिष्णुताले भरिएको समाज हो । हिजो धर्म सापेक्ष राज्य हुँदा पनि हरेक धर्मप्रति आदर सम्मान थियो । नेपालको संविधान २०७२ लागू भएपछि नेपाल धर्म निरपेक्ष राज्य बन्यो । सबै धर्मले फल्ने फुल्ने समान अवसर प्राप्त गरेको छ । कुनै निरीह आत्माले धार्मिक उन्मादको बज्र बेहोर्नु परेको छैन । तर यसको अर्थ बहुसंख्यक रैथानेको आस्था रहेको हिन्दू धर्ममाथि नै प्रहार गर्ने छुट कुनै धर्म मान्नेलाई छैन ।

हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथको जग्गा गैरकानुनी रुपमा मिचेर वा हत्याएर चर्च बनाइएको कुरा पत्याउनु हुन्छ रु नेपालको कानुनमा स्पष्ट लेखिएको छ, कुनै एउटा धर्मस्थलीको जग्गा अर्को धर्मले प्रयोग गर्न पाउँदैन । तर हाकाहाकी हिन्दू बहुल समाजमा हिन्दूकै आस्था केन्द्र पशुपतिनाथको जग्गामा क्रिश्चियन धर्मको चर्च र क्रिश्चियन मेसिनरी अफ च्यारेटी सञ्चालन भएको छ । चर्च र च्यारेटी मेसिनरीले पशुपतिनाथको जग्गामा विशाल भौतिक संरचना खडा गरेको छ । सबै धर्मलाई राज्यले समान व्यवहार गर्नु त ठीकै हो । तर हिन्दू धर्मको सम्पदा मिचेर चर्च र मेसिनरी चलाउनुलाई अनियन्त्रित पखेटा फिँजाउने एउटा दुर्दान्त क्रिश्चियन अभियान नै भन्नुपर्छ ।

पशुपतिनाथको जग्गा संरक्षण हुन नसक्दा नाथ भनिएका हिन्दू देवस्थल आफैँ अनाथ जस्तो भएको छ । सरकार पशुपतिनाथको जग्गा जोगाऊ । कानुन पालना गराऊ 

पशुपतिनाथको चल र अचल श्रीसम्पत्तिको सुरक्षा र व्यवस्थापन गर्न अधिकार सम्पन्न पशुपति क्षेत्र विकास कोष र अमालकोट कचहरी कार्यालय छदैँछ । तर पशुपतिनाथको जग्गा क्रिश्चियन चर्च र मेसिनरीको नाममा पटकपटक राजीनामा पास भएको यी दुई जिम्मेवार निकायलाई थाहा छैन । जग्गाको लालपुर्जामा जग्गाधनीको महलमा पशुपतिनाथको नाम लेखिएको देख्दादेख्दै चर्च र मेसिनरी अफ च्यारेटीको भवन बनाउन स्वीकृति दिने काठमाडौं महानगरपालिकाको नियत के हो ?

राज्यका अधिकारीसमक्ष नेपाली जनताको प्रश्न छः क्रिश्चियन धर्म प्रधान समाज रहेको र धर्म निरपेक्ष राज्य भनिएको मुलुकमा हिन्दू देवस्थल निर्माण गर्न चर्चको जग्गा प्राप्त गर्न सकिन्छ होला ? कानुनले वर्जित गर्दागर्दै पशुपतिनाथको जग्गामा कसरी क्रिश्चियन चर्च निर्माण भयो ? कसले दिने उत्तर ? को हुन् जिम्मेवार ? खोजी हुन्छ कि हुँदैन ?

पशुपतिनाथको नाममा ४ हजार ६ सय रोपनी जग्गा दर्ता छ । लालपुर्जामा जग्गा धनी भनेर पशुपतिनाथ किटान गरिएको छ । तर हिन्दू धर्मावलम्वीको आराध्यदेव पशुपतिनाथको जग्गा पजनी हुने क्रम जारी छ । पशुपतिनाथको जग्गा संरक्षण हुन नसक्दा नाथ भनिएका हिन्दू देवस्थल आफैँ अनाथ जस्तो भएको छ ।

पशुपतिको जग्गामा क्रिश्चियनको राइँदालो छ । चर्च र क्रिश्चियन मेसिनरीले हिन्दू धर्मको देवस्थलको जग्गामा उभिएर आफ्नो धर्मको श्रीवृद्धि अभियान चलाएका छन् । कौडीको भाउमा पशुपतिनाथको जग्गा राजीनामा पास गराउन सफल भएका छन् । सरकारी निकाय मूकदर्शक बनेको छ ।

पशुपतिनाथको मोही जग्गा, कानुन बमोजिम मोहियानी हक राजीनामा र नामसारी हुन्छ । मालपोत कार्यालय र अमालकोट कचहरी कार्यालयले मोहियानी हक राजीनामा र नामसारी गरिदिने अधिकार पाएको छ । तर पशुपतिनाथको जग्गा अन्य धर्मका धार्मिकस्थल बनाउन भाडामा समेत दिन पाइँदैन । मोहियानी हक राजीनामा वा नामसारी गर्न त झन कानुन अनुसार मिल्दै मिल्दैन । तर कानुनले जे मिल्दैन, त्यही भएको छ ।

सरकारी निकाय र सरकारी अधिकारी बिकाउ भएपछि देशमा यस्ता गैर कानुनी कार्य फस्टाउनु अस्वाभाविक होइन । नेपालभरका सरकारी तथा सार्वजनिक जग्गामा भूमाफियाको नजर परिरहेको र जग्गा अपचलन भइरहेको लहरमा पशुपतिनाथको जग्गा पनि सुरक्षित रहन सकेन । बगिरहेको बागमतीमा हात धुन छुट भएजस्तै पशुपतिनाथका जग्गा लुट्ने सुविधा मिलेको छ । देशवासी कुनै नागरिकले नियम कानुनअनुसार पशुपतिको जग्गा मोहीको हक अनुसार भोग चलन गरेकोमा आपत्ति हुँदैनथ्यो । तर पशुपतिनाथको जग्गा फरक धर्मावलम्वीको हातमा पुगेको छ । पशुपतिको अचल सम्पत्तिमा क्रिश्चियनको चमकिलो दरबार खडा भएको छ । यो धार्मिक सहिष्णुता किमार्थ होइन । क्रिश्चियन धर्मावलम्बीको हिन्दू धर्मप्रतिको असहिष्णुता हो । सरकार पशुपतिनाथको जग्गा जोगाऊ । कानुन पालना गराऊ । जनता समाचारबाट । 

७ बर्ष अगाडि

प्रतिक्रिया