मन्त्री जितेन्द्र सोनलद्वारा सरकारी गाडी दुरुपयोग

७ बर्ष अगाडि

दुईमध्ये एक गाडी श्रीमती र कार्यकर्ताको काममा –

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले सरकारी गाडी दुरुपयोग गरेको पाइएको छ । मन्त्री सोनलले को.१झ ४९६ नम्बरको सेतो नम्बरप्लेटको सरकारी स्कार्पियो गाडी एक वर्षदेखि दुरुपयोग गर्दै आएका हुन् । 

मन्त्री सोनलका परिवार सदस्य र पार्टी कार्यकर्ताले व्यक्तिगत काममा समेत सरकारी गाडी प्रयोग गर्दै आएका छन् । काम नहुँदा गाडी बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमालस्थित मन्त्री सोनलकै घरको आँगनमा पार्किङ गरेर राख्ने गरिएको छ । नयाँपत्रिकामा खबर छापिएको छ । 

३ फागुन ०७५ मा प्रदेश सरकारको मन्त्री नियुक्त भएपछि संघीय सरकारले मन्त्री सोनललाई उक्त गाडी उपलब्ध गराएको थियो । संघीय सरकारले उपलब्ध गराएको गाडी पुरानो भएको गुनासो बढेपछि प्रदेश सरकारले नै मन्त्री सोनललाई ज.१झ ४३६ नम्बरको नयाँ गाडी दियो । 

तर, मन्त्री सोनलले संघीय सरकारले दिएको गाडी फिर्ता नगरी दुरुपयोग गर्दै आएको प्रदेश २ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालय स्रोतले जनाएको छ । ‘गाडी फिर्ता गर्नुस् भन्दा मन्त्रीले बेवास्ता गर्दै आएका छन्,’ मन्त्रालय स्रोतले भन्यो । मन्त्री सोनलका आफन्त र कार्यकर्ताले एक वर्षदेखि सरकारी गाडी दुरुपयोग गर्दै आएकोमा स्थानीय रुष्ट छन् ।

प्रदेश २ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव पुष्करनाथ घिमिरेले भने मन्त्री सोनलले दुईवटा सरकारी गाडी राखेको विषयमा आफूलाई कुनै जानकारी नभएको दाबी गरे । ‘मन्त्री सोनलको पुरानो गाडी बिग्रिएकाले मर्मतका लागि वर्कसपमा राखिएको जानकारी दिनुभएको छ,’ सचिव घिमिरेले भने । मन्त्री सोनलका स्वकीय सचिवले दुईवटा सरकारी मोटरसाइकलसमेत प्रयोग गर्दै आएका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया