नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भक्तपुरमा जग्गा कब्जा गरेको सार्वजनिक घोषणा गरेको छ । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित एक रोपनी एक दाम जग्गा नेकपा समूहले कब्जा गरेको हो ।
नेकपा जिल्ला जनपरिषद् भक्तपुरअन्तर्गत रहेको नेवाः स्वायत्त प्रदेशले चाँगुनारायण नगरपालिका–५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नगरपालिका–१० कमलविनायकका चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको सो जग्गा कब्जा गरेको भन्दै जग्गामा कालो ब्यानर र विज्ञप्तिसमेत टाँसिएको छ ।
चाँगुनारायण नगरपालिका–२ को कित्ता नम्बर १७९८ को सो जग्गाको क्षेत्रफल एक रोपनी एक दाम छ ।जिल्ला जनपरिषद् भक्तपुरका प्रमुख एसीको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिसहित उक्त जग्गा कब्जा गरेको ब्यानरसमेत जग्गामा टाँसिएको छ ।
परिषद्का कार्यकर्ताले जग्गा कब्जा गरेपछि जग्गाधनी चन्द्रमायाको घरमै गएर जग्गा कब्जा गरेको पत्र दिएका थिए । जग्गासम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन अवस्था छ ।
प्रहरीले जग्गा कब्जा भनी राखिएको नेकपाका झन्डा र ब्यानर हटाएको छ । भक्तपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले कसैले भन्दैमा वा लेखेर राख्दैमा व्यक्तिको जग्गा कब्जा नहुने बताएका छन् ।
प्रतिक्रिया