प्रहरीले रामेछाप घर भएकी ६ वर्षीया बालिका बलात्कार गर्ने एक वृद्वलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–९ लुबु लामाटार घर भएका ६९ वर्षीय शिव प्रसाद घिमिरे रहेका छन् ।
घिमिरेले गत जेठ १५ गते स्कुलबाट घर फर्किरहेकी बालिका (नाम परिवर्तन) सोनियालाई ललाईफकाई घर लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए ।
डीएसपी मिश्रले भने, ‘सोनियालाई घिमिरेले एक्लै फर्किरहेको देखेपछि बोलाएर घरमा लगेर दही, रोटी र तरकारी खुवाएछन । त्यसपछि काउकुती लगाउँछु भन्दै काखमा राखेर बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।’
घिमिरेले सोनियालाई पछि यो कुरा कसैलाई नभन भन्दै १० रपैयाँ दिएको समेत प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी मिश्रले बताए । घरमा कसैलाई नभनेकी सोनियाले स्कुलको साथीलाई भनेपछि घटना बाहिर आएको बताइएको छ ।
घटनाबारे बालिकाकी आमाले थाहा पाएपछि जेठ १७ गते प्रहरी वृत्त सातदोबाटोमा घिमिरेमाथि उजुरी दिएकी थिइन् । बालिकाको आमाको जोहरीपछि प्रहरीले जेठ १९ गते घिमिरेलाई घरबाटै पक्राउ गरेको डीएसपी मिश्रको भनाई छ ।
पक्राउ परेका घिमिरेमाथि अदालतबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया